चेपाङलाई पचास सरकारी घर



रोशन पराजुली, हेटौंडा
जनता आवास कार्यक्रमअन्तर्गत हालसम्म मकवानपुरमा ४ सय ७२ वटा घर निर्माण भएको छ। अल्पसंख्यक तथा अतिसीमान्तकृत वर्गलाई घर निर्माण गरिदिने कार्यक्रमअन्तर्गत चेपाङ समुदायको घर निर्माण गरिएको हो।

चालू आर्थिक वर्ष २०७४⁄०७५ मा चेपाङका ५० वटा घर निर्माण गरिएको छ। गत आर्थिक वर्षको क्रमागत कार्यक्रमअन्तर्गत ५० वटा घर निर्माण सम्पन्न भइसकेको सामाजिक परिचालक खेम चेपाङले जानकारी दिए।

चालू आर्थिक वर्षमा पनि ५० वटा घर निर्माणका लागि सरकारले रकम छुट्याएकोमा हालसम्म घरको जग खन्ने काम भएको चेपाङले बताए। ‘केन्द्रबाट निर्णय नै ढिला आएकाले यस वर्ष थालेको काम अर्को आर्थिक वर्षमा मात्र सम्पन्न हुने अवस्था छ’, सामाजिक परिचालक चेपाङले भने– ‘२ वर्षसम्म क्रमागत कार्यक्रम सञ्चालन गर्न पाउने भएकाले यही वर्षभित्र काम सम्पन्न गरिहाल्नुपर्ने बाध्यता छैन।’

चेपाङका अनुसार हरेक वर्ष चैत–वैशाख महिनामा मात्र केन्द्रबाट निर्णय भएर आउने भएकाले सोही आर्थिक वर्षको साउनसम्ममा काम सक्न मुश्किल पर्ने गरेको छ। २ वर्षभित्र पनि घर निर्माण पूरा हुन सकेन भने तोकिएको बजेट फिर्ता जाने प्रावधान छ।

सरकारले घर निर्माणका लागि प्रतिघर १ लाख ८४ हजार रुपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा ५० वटा घर निर्माणका लागि मकवानपुरमा ९२ लाख विनियोजन भएको भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाले जनाएको छ। घर निर्माणका लागि लाभग्राहीले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान छ।
सरकारले तोकिएको मापदण्डअनुसार भान्छासहित २ कोठाको जस्ताको छानो भएको २ पाखे घर निर्माण गर्नुपर्ने हुन्छ। घरसँगै शौचालय अनिवार्य व्यवस्था गर्नुपर्ने हुन्छ। अतिविपन्न समुदायअन्तर्गत राखिएको चेपाङको जनसंख्या करिब २० हजार हाराहारीमा छ।

सरकारले आर्थिक वर्ष २०६६⁄०६७ बाट लोपोन्मुख र अतिसीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवास व्यवस्थाका लागि जनता आवास कार्यक्रम शुरु गरेको थियो। त्यसयता मकवानपुरका अतिसीमान्तकृत तथा विपन्न वर्गका चेपाङ समुदायलाई घर निर्माणका लागि रकम प्राप्त भइरहेको छ।
मकवानपुरमा हाल ४ वटा गाउँपालिका र एउटा उपमहानगरमा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम भइरहेको छ। हेटौंडा उप–महानगरपालिकासहित भीमफेदी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङलाई जनता आवास कार्यक्रमले समेटेको छ।

प्रतिक्रिया दिनुहोस्