अपर सानीगाडलाई वित्तीय स्रोत जुट्यो



काठमाडौं, (नेस)
१० दशमलब ७ मेगावाट क्षमताको अपर सानीगाड जलविद्युत् आयोजनाका निम्ति वित्तीय स्रोत जुटेको छ। बझाङ जिल्लामा निर्माण गरिन लागेको उक्त आयोजना बुङल हाइड्रो प्रालिले निर्माण गर्न लागेको हो।

परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको छ। परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन्। आइतबार लिड बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र बुङगल हाइडो प्रालिका तर्पmबाट उमेश श्रेष्ठले ऋण समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।

परियोजनाको कुल लगानी १ अर्ब ८१ करोड ५० लाख रुपियाँ रहेको छ। यसमध्ये बैंकको ७५ प्रतिशत अर्थात १ अर्ब ३६ करोड र निर्माण कम्पनीको २५ प्रतिशत अर्थात ४५ करोड रुपियाँ लगानी हुनेछ। परिआयोजना सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। परियोजनाको ट्रान्समिसन लाइन कम्पनीले आफैं निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकाले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने कम्पनीले जनाएको छ।
परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र वीरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन्। परियोजनाको साइडको काम शुरू भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै शुरू हुने कम्पनीले जानकारी गराएको छ। परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो।

यो समूहले बझाङमै कालंगा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५ दशमलब ३३ मेगावाट) र अपर कालंगा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८ लशमलब ४६ मेगावाट) निर्माण गरिरहेको छ। तीनवटा परियोजनामा कुल लगानी करिब ११ अर्ब रुपियाँ हुने कम्पनीले जनाएको छ। यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ। तीनवटा परियोजनामा १५ बैंक आबद्ध रहेका छन्।

प्रतिक्रिया दिनुहोस्