यार्सा संकलनमा जाने घटे



वीरबहादुर बम, मुगु
जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका– मुगु गाउँका विभिन्न पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनमा जानेको संख्या अगिल्लो वर्षभन्दा यो वर्ष घटेको छ।

मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँको रिमार, ठुलोकोखी, स्यानोकोखी, छापाखोला, हङदङखोला, चाल्नेलगायत अन्य पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनका लागि सर्वसाधारणलाई जेठ महिनाको दोस्रो सातादेखि संकलनकर्ताबाट वन प्रवेश शुल्क उठाई तेस्रो सातामा वन क्षेत्रमा प्रवेश गर्न अनुमति दिइने गरेको हो।

यो वर्ष संकलनकर्तालाई जेठ महिनाको २० गतेदेखि असारको १५ गतेसम्म संकलन गर्ने अनुमति दिएको छ। स्थानीय निकायको निर्वाचनमा केही संकलनकर्ता आफ्नो समर्थकको भोजभतेर खान गाउँ नछोडेका र यार्सा पाइने स्थानमा बेलाबेला वर्षा हुने गरेको साथै हिमपात हुने गरेकाले चिसोले ज्यान जाने डरका कारण अघिल्लो वर्षभन्दा यो वर्ष यार्सा संकलन गर्न जानेहरूको संख्या घटेका हो।

यो वर्ष राजस्व संकलनका लागि मुगुम कार्मारोङ गाउँपालिकाको निर्णयले गाउँपालिकाको–२ नम्बर वडा मुगु गाउँको व्यवस्थापनमा आफैं राजस्व संकलन गर्ने जिम्मा लिएपछि व्यवस्थापन समितिको निर्णयले संकलनकर्ता परिचय खुल्ने परिचयपत्र अनिवार्य साथमा ल्याउने भनेका र नाबालकहरूलाई वन प्रवेश गर्न नपाइने भनेकाले पनि अघिल्ला वर्षहरूजस्तै विद्यालय जाने बालबालिकाहरू पनि कमै गएका कार्मारोङ गाउँपालिका–२ का वडा अध्यक्ष कार्मा तामाङले बताए।

अघिल्लो वर्ष ८० लाख राजस्व संकलन भएको थियो। यार्सा संकलनमा ८ हजारभन्दा बढी पाटन क्षेत्रमा प्रवेश गरेको तथ्यांक रहेको छ। यो वर्ष जम्मा ४ हजार जना मात्र वन प्रवेश गरेका छन्। अघिल्लो वर्षभन्दा यो वर्ष राजस्व पनि आधा घटेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार ४१ लाख मात्र राजस्व संकलन भएको छ। यार्सा संकलनका लागि जिल्लाबासीलाई १५ सय र बाहिर जिल्लाबाट आउनेहरूलाई २ हजार तोकिएको थियो। गएको वर्षहरूमा यार्सा संकलनकर्ताबाट जिल्ला विकास समिति र सम्बन्धित मुगु गाउँ विकास समितिले स्थानीय जिल्लाबासीका लागि १ हजार र बाहिर जिल्लाबाट आउनेहरूका लागि १ हजार ५ सय राजस्व लिने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्