संसद् खोल्ने तीन दलबीच सहमति



बीपी साह, काठमाडौं
सत्तारूढ दलले आगामी निर्वाचनहरूमा धाँधली र मतपत्र च्यात्ने काम हुन नदिने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले व्यवस्थापिका संसद्को अवरोध हटाउने सहमति जनाएको छ। अवरोध हटाउने सहमति भएपछि आज कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४०औं प्रधानमन्त्री हुने निश्चित भएको छ।

भरतपुर महानगरपालिकाको मतगणनाको विवाद समाधान नभएको र प्रधानमन्त्री चयन प्रक्रियाका बारेमा संसद्मा जानकारी नभएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गर्दै आएको थियो। जसका कारण प्रधानमन्त्री निर्वाचन प्रक्रिया पनि अवरुद्ध बनेको थियो।

संसद्को अवरोध हटाउने विषयमा सभामुख ओनसरी घर्तीको पहलमा सोमबार तीन दलको बैठकमा सहमति जुटेको हो। बैठकपछि एमाले नेता झलनाथ खनालले मंगलबारको संसद् बैठक अवरुद्ध नगर्ने सहमति भएको जानकारी दिनुभयो। उहाँले कांग्रेस र माओवादीले आगामी निर्वाचनहरू सहमतिमै गर्ने प्रतिबद्धता जनाएपछि आफूहरू सदन खोल्न सहमत भएको बताउनुभयो। खनालले विभिन्न चारवटा विषयमा समझदारी बनेको पनि जनाउनुभयो।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार दुईवटा संसद् बैठक बस्ने र पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनुभयो। दोस्रो बैठकले नयाँ प्रधानमन्त्रीका लागि मतदान गर्ने सहमति भएको उहाँले बताउनुभयो।

आज अपराह्न १ बजे बस्ने बैठकमा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री निर्वाचन गर्न राष्ट्रपति कार्यालयबाट आएको पत्र र प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाबारे जानकारी दिँदै सभामुख घर्तीले प्रमुख तीन दलका शीर्ष नेतालाई बोल्न समय दिने दलहरूबीच सहमति भएको पनि श्रेष्ठले बताउनुभयो।

सोमबार तीन दलको बैठकअघि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। एमाले अध्यक्ष केपी ओलीलाई भेटेर कांग्रेस नेता एवं गृहमन्त्री विमलेन्द्र निधि र प्रदीप गिरीले सदन खोल्न आग्रह गर्नुभएको थियो।

आजको संसद् बैठकमा एमालेले प्रधानमन्त्रीमा देउवालाई मतदान नगरी देउवाको विपक्षमा मतदान गर्ने एमाले नेता भीम रावलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्