ओली निवासमा पुगे कांग्रेसका तीन नेता



भक्तपुर, (नेस)
नेपाली कांग्रेसका तीन जना नेता र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ।

संसद् सुचारु गर्नका लागि भएको छलफलमा कांग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी अध्यक्ष ओली निवास बालकोट पुग्नुभएको हो।२ घण्टा भएको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता निधि अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्नेबारेमा छलफल भएको बताउनुभयो। नेता निधिले संसद् अवरोधलाई हटाएर संसद् सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट आफूहरू अध्यक्ष ओलीसँग छलफल गर्न आएको बताउँदै वार्ता सकारात्मक भएको बताउनुभयो।

निधिले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकता दिएर प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको बताउनुभयो।भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने कांग्रेस नेताहरूको धारणा रहेको बताउँदै उहाँहरू यसकै निम्ति छलफल गर्न आउनुभएको जानकारी दिनुभयो।

एमाले सहमतिको बाधक नरहेको बताउँदै अध्यक्ष ओलीले सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको प्रतिक्रिया दिनुभयो। समस्या समाधानका लागि एमाले सकारात्मक भएको बताउँदै सोमबार साँझ पनि दलहरूको बैठक बस्ने र निष्कर्ष निस्कने आशा व्यक्त गर्नुभयो।

प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामा सहभागिता नजनाएको र संसद् सुचारु गर्न नदिएपछि सहमतिको प्रयास स्वरूप यो भेटवार्ता भएको हो। प्रधानमन्त्री पदका लागि संसद् सचिवालयमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ।

प्रतिक्रिया दिनुहोस्