तीन जितका साथ आर्मी क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र
काठमाडौं
विभागीय टोली त्रिभुवन आर्मी क्लब शतप्रतिशत नतिजाका साथ दोस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स खेल मैदानमा भएको खेलमा आर्मीले फ्रेन्डस क्लबलाई ४–० गोलअन्तरले हराएर अन्तिम आठ सुरक्षित गरेको हो। टोलीको जितमा क्षितिज राज जिटीले दुई तथा विश्वास उदास र दिनेश हेन्जनले एक–एक गोल गरे।

एकपक्षीय रहेको खेलमा क्षितिजले २१ औं मिनेटमा गोल गरेर आर्मीलाई शुरुआती अग्रता दिलाएका थिए। उनले २९औं मिनेटमा अर्को गोल थपेर टोलीको अग्रता दोब्बर पारेपछि पहिलो हाफ २–० को अग्रतामा समाप्त भयो। दोस्रो हाफमा पनि फ्रेन्डसमाथि आर्मी हावी बनेको थियो।

विश्वासले ५६औं मिनेटमा र दिनेशले ८१औं मिनेटमा गोल गरेर आर्मीले तीन खेलमै जितको नतिजा आत्मसात गर्यो। समूह बी मा रहेको फ्रेन्डस् हारको बाबजुद अन्तिम आठमा पुग्न सफल भयो। फ्रेन्डस्ले यसअघि लगातार दुई खेल जितेको थियो। टोली समूहमा दोस्रो स्थानमा रहेको थियो।

हिजै भएको अर्को खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले झापा ११ लाई २–१ ले हराएर अन्तिम आठमा पुग्यो। टोलीको जितमा सिद्धार्थ बल र याङ दोर्जे थिङले गोल गरे। झापाका दिक्षान्त राईको गोल सान्त्वना गोल बन्यो। यो नतिजासँगै झापाको दुखद् विदाइसमेत भएको थियो। पूर्वेली टोलीले समूह ए का तीनै खेल हारेको थियो।

प्रतिक्रिया दिनुहोस्