“राजपा चुनावमा जान्छ”



शरद्सिंह भण्डारी
नेता, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)

राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले दुई पटक निर्वाचनको मिति सार्दै आगामी असार १४ गते गर्ने निर्णय गरेको छ। निर्वाचनको मिति परिवर्तन गर्ने निर्णयसँगै राजपाले पूर्वघोषित आन्दोलनको कार्यक्रम फिर्ता लिएर सरकारलाई निर्वाचनको वातावरण तयार गर्न दबाब दिइरहेको छ। मधेसवादी दलहरूको माग सम्बोधन गर्नका लागि सरकारले संसद्मा पेस गरेको संविधान संशोधन विधेयक अलपत्र अवस्थामा छ। राजपाले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाए आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएको छ। संघीय गठबन्धको नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपालले पहिलो चरणको निर्वाचनमा सहभागिता जनाएको छ। राजपा पनि सकेसम्म निर्वाचनमा सहभागी हुने गृहकार्यमा जुटेको छ। यद्यपि आफूहरूको माग अझै सम्बोधन नभएको भन्दै राजपाले असन्तुष्टि जनाउँदै आएको छ। यसै विषयमा, आगामी स्थानीय तहको निर्वाचनमा सहभागिता, राजपाको आगामी योजनालगायतको विषयमा केन्द्रित रहेर राजपाका नेता शरद्सिंह भण्डारीसँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझी र बीपी साहले गरेको कुराकानीका मुख्य अंशः
अहिलेसम्म राजपाले दल दर्ताको प्रक्रिया पूरा गरेको छैन। अन्य प्राविधिक काम पनि बाँकी छन्। किन होला ?

निर्वाचन घोषणा भइसकेपछि यो पार्टी एकीकृत भएको हो। निर्वाचनमा गइसकेको अवस्थामा दल दर्ता र चुनाव चिह्नलगायतका कुरा प्रभावित हुनु स्वभाविक हो। त्यसैले अहिले राजपाले राजनीतिक मान्यता पाएको छ। तर, वैधानिकताको कुरा मात्र अगाडि बढेको छैन।

हामीले निर्वाचन आयोगलाई जानकारी गराइसकेका छौं। एउटा सूचना जारी गरेर हामीले निर्वाचन आयोगलाई भनिसकेका छौं कि हामी यो यो पार्टी मिलेर राजपा गठन गरेका छौं र हामीलाई छाता चुनाव चिह्न चाहिन्छ। तर, अहिले निर्वाचन आयोग दल दर्ताको प्रमाणपत्र दिने अवस्थामा छैन र चुनाव चिह्न दिने अवस्थामा पनि छैन। त्यस कारण निर्वाचन आयोगमा गएर आन्दोलन गरेर राजनीतिक स्टन्ट गर्नु राम्रो होइन। त्यसैले अहिले हामी राम्रो पार्टी बनाउन लागेका छौं। अर्थात् मधेसमा टेकेर हामीले सम्पूर्ण नेपालीको पार्टी बनाउन चाहेका छौं।
तपाईंहरूको पार्टीमा सैद्धान्तिक कुरा नमिलेको चर्चा आइरहेको छ नि ?

यो स्वाभाविक हो। विभिन्न पृष्ठभूमिबाट आएका पार्टीहरू एक ठाउँमा आउँदा छलफल हुनु आवश्यक छ। फरक–फरक विचार आउन सक्छ। तर, हाम्रो मुद्दा एउटै भएकाले हामी मिलेका हौं। सबै मधेस केन्द्रित भएर मधेसको मुद्दा र यसैखालका मुद्दाहरू समाधान गर्नका लागि एकीकृत भएका छौं। एउटा कुरामा हामी स्पष्ट छौं कि हाम्रो लोकतान्त्रिक समाजवादको सिद्धान्त बोकेको पार्टी हो।

हामी समावेशी लोकतन्त्रमा विश्वास गर्छौं त्यसैले समावेशी पार्टी बनाउन चाहन्छौं। त्यसका लागि हामीबीच गहन छलफल हुनु अवाश्यक छ। हामीले बृहत् छलफल गर्दै छौं। हतारमा कुनै काम गर्न चादैनौं। विगतको मधेस राजनीतिले हामीलाई पोलेको छ। त्यस कारण भोलि त्यस्तो अवस्था नआओस् भनेर हामी छलफलमा छौं।

तपाईंहरूले मधेसलाई टेक्ने पार्टीहरू एकीकृत भयौं भन्नुहुन्छ। तर, अहिले पनि मधेसलाई टेक्ने उपेन्द्र यादव र विजय गच्छदारको नेतृत्वमा रहेको दुई वटा पार्टी बाहिर नै छन् नि ?

हामी उहाँहरूलाई ल्याउने प्रयासमा छौं। उहाँहरूसँग निकै छलफल भइरहेको छ। अहिले गृहकार्यमा पनि छौं। नेपालको राजनीति परिवर्तनको मोडमा छ। त्यस कारण हामी संविधानमा रहेका असन्तुष्टिलाई हटाउँदै अगाडि बढ्ने प्रयासमा छौं। यस अवस्थामा उहाँहरूलाई पनि समेटेर बृहत् राजनीतिक शक्ति बनाउने पक्षमा छौं। उहाँहरू पनि हामीसँगै हुनुहुन्छ ?

तर, अहिलेकै निर्वाचनको कुरामा दुई धारमा देखिनुभएको छ नि ?

कुनै पनि दुई धारमा छैन। उहाँहरूले पहिलो चरणकै चुनावमा भाग लिनुभएको हो। उहाँहरूलाई पहिलो चरणको निर्वाचनमा सहभागी हुने वातावरण राजपाले बनाइदिएको हो। हामीले गरेको भद्र सहमतिअनुसार नै उहाँहरूले निर्वाचनमा भाग लिनुभएको हो। जसको परिणाम स्वरूप दुई चरणमा निर्वाचन भयो। हामीले पहिलो चरणको निर्वाचन बिथोलेको होइन, सहयोग नै गरेका हौं। १७ गते संविधान संशोधन भएको भए हामी पनि निर्वाचनमा हुन्थ्यौं। तर, त्यो दिन एउटा नाटकीय घटना भयो। र, हामी आन्दोलनमै छौं।

अहिलेकै अवस्थामा निर्वाचन भयो भने राजपा र अन्य दलबीच मुठभेड हुने सम्भावना छ कि छैन ?

हुने छैन। हामी पनि दोस्रो चरणको निर्वाचनको तयारी गर्दै छौं। तर, हामीले निर्वाचनको वातावरण बनाउन माग गरेका छौं। हामीले निर्वाचनमा भाग लिँदैनौं भनेर कसैले पनि भनेका छैनौं। राजपाले त्यस्तो कुनै निर्णय गरेको छैन। स्थानीय निकायसम्बन्धी हाम्रो माग पूरा हुने अवस्थामा थियो तर भएन। त्यस कारण केही जटिलता छ।

राजपा र संघीय गठबन्धनको एउटा अडान रहँदै आएको छ कि संविधान संशोधन नभएसम्म निर्वाचनमा जाँदैनौं। संविधान संशोधन नभए पनि निर्वाचनमा जान सकिन्छ भन्न खोज्नुभएको हो ?

होइन हाम्रो त्यस्तो अडान छैन। हाम्रो माग के हो भने संविधान संशोधन नभएसम्म हाम्रा मागहरू पूरा हुने छैनन्। संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाइएको छ। हामीलाई के पनि थाहा छ भने अहिलेको अवस्थामा संविधान संशोधनका लागि संख्या पुग्दैन। हामीले संविधान संशोधनको एउटा परिस्थिति बनाउनुस् पनि भनेका छौं। एउटा विश्वास दिलाउनुस् भनेका छौं त्यसअनुसार संविधान संशोधनको प्रतिबद्धता सरकारबाट आयो भने हामी चुनावमा जान्छौं।

भनेपछि कुनै सम्झौता आवश्यक छ ?

सम्झौता त धेरै भएको छ। लिखित नै चाहिन्छ भन्ने पनि होइन। अलिखित सम्झौताले पनि धेरै महत्त्व राख्ने गरेको छ। जसरी अहिले सरकारको विषयमा प्रचण्डले सम्झौता पालना गरे। त्यसरी नै सम्झौताहरू पालना हुन सक्छन्।

अहिले स्थानीय निकायको निर्वाचन हो। यसले संविधान कार्यान्वयन भइरहेको छैन। स्थानीय निकायको चुनाव हुने वित्तिकै संसार नै डुब्छ भन्ने छैन। भोलि संसद् र प्रदेशको चुनाव हुन्छ। हामीले पहिले पनि भनेका थियौं अहिलेको संविधान संशोधनबाट सीमांकनसम्बन्धी प्रक्रियालाई अगाडि बढाउने र निर्वाचन पछि टुंगो लगाउने। सीमांकनको टुंगो लगाउने बाटो पनि त छँदै छ।

त्यसो भए यसअघि एमालेले पनि यस्तो प्रस्ताव राखेको थियो। त्यतिबेला तपार्इंहरू किन मान्नुभएन ?

एमालेले त प्रस्ताव नै ल्याएको थियो। तर, मानेन। अहिलेको ७ प्रदेशको प्रस्ताव पनि उनीहरूले नै ल्याएका थिए। तर, पछाडि हटे। आफैंले गरेका प्रस्तावहरूको विरुद्ध एमाले गयो। एमाले आफैंले आयोग बनाउने प्रस्ताव गरेको थियो। तर, अहिले मानेको छैन। त्यसबेला एमालेले प्रस्ताव गरेको आयोग अहिले हामी बनाउन भन्दै छौं। किन मान्दैन त एमाले ? भन्नुको अर्थ उहाँहरूमा इमानदारिता देखिएन।

त्यसो भए कांग्रेस र माओवादीको गठबन्धनले इमानदारिता देखाउला भन्ने विश्वास छ त ?

प्रचण्डले त प्रयास गरेको हो नि। कांग्रेस र माओवादीले हामीसँग सहमति गर्न खोजेका छन्। उहाँहरू त सदनमा हाम्रो पक्षमा देखिनुभएको छ।

तर, पारित भएन नि ?

पारित गर्ने हैसियत कांग्रेस र माओवादीसँग छैन। संशोधन प्रस्तावको एउटा सरोकारवाला कांग्रेस र माओवादी हुन्। हामीले माग गरेको संविधान संशोधनको प्रस्तावक त कांग्रेस र माओवादी हो। हामीले राखेको मागमा अहिलेको सरकार उभिएको छ। सरकारसँग दुई तिहाइ बहुमत छैन।

त्यसो भए संशोधनको वातावरण वा प्रतिबद्धता आए राजपा चुनावमा जाला ?

निश्चितरूपमा जान्छ। संविधान संशोधनको वातावरण बनाएर सरकारले गर्न सक्ने कामहरू गरेमा राजपा चुनावमा जान्छ।
राजपा संविधान संशोधन पास नभए पनि निर्वाचनमा जान्छ ?

अहिलेको अवस्थामा संशोधन पास हुँदैन भन्ने कुरा हामीलाई राम्रो गरी थाहा छ। अहिलेको बनोटअनुसार संशोधन हुँदैन।

पार्टी एकीकरण गरेपछि संघीय गठबन्धनबाट उपेन्द्र यादवलाई हटाउने निर्णय गर्नुभयो नि ?

यो दुर्भाग्यपूर्ण घटना हो। यो नियतवश गरिएको पनि होइन। संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको अवस्थामा जुन बेला हामी आन्दोलनमै थियौं। तीनबुँदे भद्र सहमतिअनुसार समस्या समाधान गर्नका लागि संविधान संशोधन प्रयास भइरहेको थियो। सरकारले माग पूरा गर्ने सर्तमा संघीय गठबन्धनले आन्दोलन स्थगित गर्ने निर्णय लियो। निर्वाचनमा जानुभन्दा पहिला संघीय गठबन्धनको संयोजक उपेन्द्र यादव हुनुहुन्थ्यो। उहाँले बैठक नै नराखी निर्वाचनमा जाने निर्णय गर्नुभयो। एकातिर आन्दोलनको घोषणा गर्ने अर्कोतिर निर्वाचनमा जाँदा अन्योलता सिर्जना भयो। यादवजी संघीय गठबन्धन छोडेर निर्वाचनमा गइसक्नुभएको थियो। संघीय गठबन्धनमा नेतृत्व कसले लिने भन्नेमा आन्दोलनको क्रममा जसको पार्टी ठूलो छ उसैले लिने सहमति भएको हो। अहिले राजपा ठूलो पार्टी बनेको हुनाले राजपाको नेतृत्वमा गठबन्धन अगाडि बढेको हो। उहाँलाई निष्कासन गरिएको होइन। यादवले छोडेर जानुभएको हो। राजपाको नेतृत्वमा संघीय गठबन्धन बनाइएको हो। एक खालको समझदारी जस्तो देखिएको छ। वास्तवमा हामी निषेध र गालीको राजनीति गर्ने पक्षमा छैनौं।

उपेन्द्र यादवले त राजपालाई भारतले मिलाइदिएको भन्ने आरोप लगाउनुभएको छ नि ?

निराधार आरोप लगाउने कुरा नेपालमा नौलो होइन। सजिलो कुरा छ। यहाँ त अरूलाई देखाइदिए भइहाल्छ। तर, यादवजीले यसो पनि भनिरहनुभएको छ राजपालाई। निर्वाचनमा ल्याउने वातावरण बनाउनुपर्छ। राजपा निर्वाचनमा आओस् भन्ने उहाँको पनि चाहना छ।

पार्टीहरूको बीचमा प्रतिस्पर्धाको कुरा पनि हुन्छ। एउटै थालमा भात खाएर हिँड्नुपर्ने कांग्रेस–माओवादी, एमाले–राप्रपा हिजो पानी बाराबार मात्र होइन अनुहार नहेर्ने अवस्थासम्म पुगेका थिए। राजनीति विचित्रको चिज हुनेरहेछ। जसले पनि एउटा ठाउँचाहिँ राख्नुपर्ने रहेछ। त्यो ठाउँ छोडेर राजनीति गर्दाखेरि भोलि गएर आफैंमाथि मुक्का लाग्दो रहेछ। नेपालको राजनीतिमा धेरै कुरा सिक्न बाँकी छ। सिक्नु पनि पर्छ। विभिन्न खालको मित्रता, गठबन्धन, विभिन्न खालको शत्रुता आखिर यही बीचमा त हो। हिजो वामदेव गौतमले भ्रष्टाचारी सार्वजनिक गरेका नेताहरू नै आज चोखा नेता भएका छन्। मधेसको राजनीतिमा पनि पीडा छ। अब हामीले एउटा कल्चर राख्नुपर्छ। राजनीतिकरूपमा, सैद्धान्तिकरूपमा वादविवाद र प्रतिवाद भए पनि व्यक्तिगतरूपमा गालीगलोज गर्ने काम अब गर्नु हुँदैन। यस्तो कल्चरले नयाँ पुस्तालाई पनि बिगार्दो रहेछ। यादवको बाध्यता होला निर्वाचनमा जाने। हामीलाई केही भन्नुछैन। हाम्रोअनुसार उहाँले राजनीति गर्ने होइन। उहाँ आफ्नो पार्टीको रणनीतिअनुसार राजनीति गर्नुहुन्छ। हामी हाम्रो रणनीतिअनुसार राजनीति गर्छौं।

तर आरोप त गम्भीर हो नि होइन ?

उपेन्द्र यादव अहिले पनि दैनिकरूपमा नयाँ पार्टीहरूसँग एकता गरिरहनुभएको छ। उहाँ स्वयंले पनि संघीय समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्नुभयो। अहिले बाबुराम भट्टराईसँग एकताको प्रयास गर्दै हुनुहुन्छ। त्यसलाई के भन्ने ? कसले गराएको कसको इशारामा भन्दिने ? राजनीतिमा पार्टी विभाजन हुने, आउने र जाने त भइरहन्छ। अनि सधैं त्यो कुरालाई बाहिरी शक्तिसँग लगेर जोड्ने हो भने बाँकी को रहन्छ ? राजपाको ६ वटा पार्टीलाई कसले जोडिदियो भन्ने अनि उहँँ स्वयं विभिन्न पार्टी लिएर जोड्दै हुनुहुन्छ। यो आरोप त्यहाँ पनि लगाउन सकिन्छ। यो आधारहीन आरोप हो। कुनै सत्यता छैन। बिनाआधार एक–अर्कामा होच्याउने प्रवृत्ति छ। यो गलत छ। नयाँ पुस्ताले राजनीतिक संस्कार पाइरहेको छैन। पश्चिमाहरूमा सोच नै सकारात्मक छ उनीहरूले विकास गरेका छन्। हाम्रो समाजमा नकारात्मक सोचले बढी घर गरेको छ। हाम्रोमा प्रशंसा गर्यो भने चाकडी सम्झिन्छन्। प्रशंसा गर्ने होइन गालीगलौज गर्ने संस्कार बढी छ।

अहिले राष्ट्रवाद र राष्ट्रघातको चर्चा चल्ने गरेको बारेमा के भन्नुहुन्छ ?

जसले राष्ट्र बुझेको छ। उसले राष्ट्रवाद बुझेको छ। जसले राष्ट्र नै बुझेको छैन उसले राष्ट्रवाद नै बुझेको छैन। देशको राष्ट्रवाद मुलुकको एकीकरणमा अडिएको छ। पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा भनेका थिए– नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो। यो भनेको समावेशी राष्ट्रवाद हो। पृथ्वीनारायण शाहकै सन्तानहरूले त्यसलाई एकल राष्ट्रवादको रूपमा विकसित गरे। राजा महेन्द्रको पालामा एउटै राजा एउटै भेष, एउटै भाषा एउटै भेष भन्ने नारा रहेको थियो। अहिले ओलीको राष्ट्रवाद पनि महेन्द्रको जस्तै हो। समावेशिता नै नेपालको राष्ट्रवाद हो। ओलीले अहिले एकल राष्ट्रवादको नारा अगाडि सारेका छन्। उनले मुलुकको विभाजनमार्फत् आफ्नो अभिष्ट पूरा गर्ने काम गरे। मुलुकको भावनात्मक विभाजन गरेर, साम्प्रदायिक विभाजन गरेर आफू र आफ्नो पार्टीलाई बलियो बनाउने अभिष्ट छ। यो राष्ट्रवाद होइन। यो साँचो अर्थमा राष्ट्रघात हो। यसले राष्ट्रलाई एकताबद्ध बनाउँदैन। आपसमा सद्भाव बिथोल्ने काम गर्छ।

तर, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा त एमाले पहिलो पार्टी बन्यो नि ?

होइन। एमालेले जसरी आँकलन गरेको थियो, जनताले पत्याएनन्। किनकि तीन वटा प्रदेशमा चुनाव भएको छ। ओलीको राष्ट्रवादको उर्वर भूमि भनेर तीन वटा प्रदेशलाई लिइएको थियो। मधेस आन्दोलनको क्रममा भएको नाकाबन्दीदेखि नै एमालेले स्थानीय तहको निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउने आँकलन गरेको थियो। तर, उल्टो भयो। कांग्रेस र एमाले हाराहारीमा पुगे। त्यसै गरी माओवादीले पनि राम्रो स्थान हासिल गर्यो। धेरै ठूलो गेम त माओवादीले गर्यो। ओलीको राष्ट्रवाद खतरनाक हो भन्ने पहाडका जनताले पनि बुझेछन्। चार वटा प्रदेशमा चुनाव गर्न बाँकी छ। अहिले भनेको मधेसलाई गाली गरेर ल्याइएको भोट हो। ओलीको राष्ट्रवाद अत्यन्तै खतरनाक राष्ट्रवाद हो।

मधेसमा सीके राउतको राष्ट्रवादलाई कसरी लिनुहुन्छ ?

नेपालमा कहिले पनि अतिवादले ठाउँ पाएको छैन। नेपाली जनता सबै खालका अतिवादलाई परास्त गर्न सफल हुँदै आएका छन्। माओवादी सशस्त्र युद्ध गरे पनि अहिले मूलधारको राजनीतिमा आएको छ। नेपालमा अतिवादको ठाउँ नै छैन। केही दिन नोक्सान र क्षति होला। तर, अहिले पनि जनताले मूल धारलाई साथ दिएका छन्। जसरी केपी ओलीको अतिवादले ठाउँ पाएन। म ठोकुवा गरेर भन्छु, पहाडमा एकलौटीरूपमा प्राविधिक कारणले कांग्रेस आफ्नो कारणले पराजित भएको छ। मधेसमा निर्वाचनको वातावरण बनाइदिने हो भने र मूलधारका पार्टीहरू निर्वाचनमा सहभागी भए भने त्यो अतिवाद पनि मधेसबाट हट्छ। नेपाली जनताप्रति मेरो विश्वास छ। नेपाली जनता कोही पनि अतिवादी होइनन्। राजपा भनेको अख्तियार प्राप्त पार्टी हो। १२ वर्षदेखि मधेसमा आन्दोलन भएको थियो। राजपामा को छ छैन ? भन्ने पनि सरोकारको विषय होइन। राजपा जसरी निर्माण भएको छ। यो मुलुकको ठूलो हिस्सालाई प्रतिनिधित्व गर्ने र एजेन्डालाई प्रतिनिधित्व गर्ने शक्ति समावेश भएन भने मुलुक अपांग नै भइरहन्छ।

सरकारले तपार्इंहरूको माग सम्बोधन गर्न निर्वाचनको मिति अब सार्छ कि सार्दैन ?

हामीले सरकारसँग निर्वाचनको मितिको बारेमा कुरा गरेका छैनौं। हामीले हाम्रो मागको कुरा उठाउँदै आएका हौं। सरकारले हामीलाई निर्वाचनमा सहभागी गराउन समय बढाएको हो। आगामी असार १४ गतेभित्र माग सम्बोधन गर्छ भने ठीकै छ। यदि पुगेन भनेर पठाउँछ भने हाम्रो भन्नु केही छैन। हामीले समयको माग गरेका छैनौं।

प्रधानमन्त्रीको निर्वाचनमा के गर्नुहुन्छ ?

राजपाले हिजो पनि भद्र सहमतिको आधारमा गठबन्धन बनाएकै हो। अहिले सरकार देउवाको नेतृत्वमा बन्दै छ। सहयोगको अपेक्षा गरेको अवस्थामा निर्णय गछौं। हामी संसद्मा छौं। सरकार निर्माणको प्रक्रिया महत्त्वपूर्ण छ। त्यो प्रक्रिया हामीलाई मतलब छैन भनेर गैरजिम्मेवार कुरा गर्दैनौं।

अब बन्ने सरकारमा राजपा सहभागी हुन्छ कि हुँदैन ?

सरकारमा सहभागी हुने प्रश्न नै छैन। जबसम्म संविधानले पूर्णता पाउँदैन, समाज र भूगोल अपांग रहन्छ त्यतिबेलासम्म सरकारमा जाने कल्पना गरेका छैनौं। सामाजिक सद्भाव कायम राख्ने तथा संविधानलाई पूर्णता दिएर राज्यलाई अगाडि बढाउने काममा हामी सहभागी हुन्छौं। हामी पनि जोगी बन्न त आएको होइन। सत्तामा जान नै आएका हौं। तर, अहिले जुन सत्ता नै पूर्ण भएको छैन, जुन संचरना भएको छैन र अधुरो संरचनाले मुलुकलाई अगाडि बढाउन सक्दैन। सरकारलाई आग्रह चाहन्छौं, सबैलाई सहभागी गराएर तथा संविधानलाई पूर्णता दिएर अहिले देखिएको अहंकार तथा हठ त्याग्ने वातावरण सिजना गरियोस्। हामी अत्यन्त लचकताका साथ सहयोग गर्न तयार छौं।

प्रतिक्रिया दिनुहोस्