‘त्रिपिटक’ अनुवाद कार्यले तीव्रता पाउँदै



नेपाल समाचारपत्र
ललितपुर
बुद्ध धर्मसम्बन्धी मूल ग्रन्थ त्रिपिटकअन्तर्गतका सम्पूर्ण ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्ने कार्यले पछिल्लोपटक निकै तीव्रता पाएको छ।

बुद्ध जन्मभूमि नेपालमा त्रिपिटकका सम्पूर्ण ग्रन्थ अहिलेसम्म नेपालमा बोलिने कुनै पनि भाषामा उपलब्ध हुन नसकिरहेको अवस्थामा ललितपुरको हबहालस्थित वीरपूर्ण संग्रहालयले पुस्तक अनुवाद र प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको हो।

संग्रहालयले त्रिपिटक अनुवाद गरी प्रकाशित गर्ने कार्य चार दशकअघि शुरू गरेको थियो। पछिल्लोपटक विस्तृत कार्ययोजना बनाई विभिन्न बौद्ध अध्येयता, भिक्षु र भिक्षुणीबाट अनुवाद कार्य थालिएकाले ग्रन्थहरू प्रकाशित हुने कार्यले तीव्रता पाएको संग्रहालयले जनाएको छ।

त्रिपिटकअन्तर्गत सूत्र पिटक (बुद्धको व्यावहारिक, आधारभूत, सैद्धान्तिक शिक्षा) विनयपिटक (बुद्धले तत्कालीन समाजमा स्थापना गर्नुभएको भिक्षु संघको नियम, आचार संहिता, विधि प्रक्रिया) र अभिधम्म (चित, चितसँगै उत्पन्न हुने विचारको कारण कार्यसहित सूक्ष्म र गहन विश्लेषण गरिएको) रहेका छन्।

यसै क्रममा त्रिपिटकअन्तर्गतका दुई महत्त्वपूर्ण ग्रन्थ प्रकाशनसँगै कार्ययोजनाको आधा काम सम्पन्न भएको संग्रहालयका अध्यक्ष दुण्डबहादुर वज्राचार्यले जानकारी दिनुभयो।

संग्रहालयले शनिबार ललितपुरको ऐतिहासिक रत्नाकर महाविहारमा आयोजित एक समारोहकाबीच त्रिपिटकअन्तर्गतका पतिसम्भिदामग्ग र धम्मसंगिणीको लोकार्पण गरेको थियो।

२५ सय वर्षअघि भारतको मगधमा प्रचलित मागधि (पाली भाषा) बाट नेपाल भाषामा भिक्षु ज्ञाणपूर्णिक महास्थवीर, भिक्षुणी अग्गञाणीले अनुवाद गर्नुभएको हो। सो ग्रन्थ नेपाल उपसंघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थवीरले सो ग्रन्थको लोकार्पण गर्नुभयो।

सो ग्रन्थ सबैभन्दा पहिले देवनागरी लिपिमा अनुवाद गरी प्रकाशन गर्न शुरू गरेको भारतको नालान्दा महाविहारले समेत अनुवाद गरी प्रकाशन गर्न सकेको छैन।

नालान्दाबाट सन् १९६० तिर देवनागरी लिपीमा त्रिपिटक अनुवाद गर्ने शुरु गरिएको थियो। यस अवस्था पनि नेपाल भाषामा प्रकाशित ग्रन्थको थप महत्त्व दर्शाउने अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले समारोहमा बताउनुभयो।

‘त्रिपिटकका सारा ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्ने कार्यले प्रत्येक नेपालीलाई बुद्धका ज्ञान, दर्शनमा सहज पहुँच स्थापित गर्दै सही अर्थमा गौरव बोध, लाभान्वित गराउने छ’ –महासचिव कौडण्यले भन्नुभयो।

‘५⁄६ वर्षको दौरानमा बाँकी कार्य पूरा हुनेछ। ती ग्रन्थहरूको क्रमशः प्रकाशनले बुद्ध धर्मबारे पढ्न विदेश जानुपर्ने बाध्यतालाई केही हदसम्म गर्ने कम गर्नेछ’ –अनुवादकसमेत रहनुभएका बज्राचार्यले भन्नुभयो।
संग्रहालयका अनुसार त्रिपिटकका ३० वटा ठूल्ठूला ग्रन्थहरू अनुवाद गरी प्रकाशित गर्ने क्रममा रहेको संग्रहालयले जनाएको छ। हालसम्म त्रिपिटक ग्रन्थअन्तर्गत दीर्घ निकाय, मज्झिम निकाय, मिलिन्द प्रश्न नेपाल र नेपाली भाषामा प्रकाशित भइसकेको छ।

त्यसै गरी संयुक्त निकाय, इतिबुत्तक, निदान कथा, पुग्गलपञ्ञिति, संगायन पाठ, जातक संग्रहअन्तर्गत ६ वटा खण्ड नेपाल भाषामा प्रकाशित भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्