सूर्यप्रसाद लाकोजू
विधागत दृष्टिले हेर्दा ‘मनका स्पर्शहरू’ साहित्यकार मोहन दुवालको चौथो मुक्तकसङ्ग्रह हो। यसभन्दा अगाडि उनका सिर्जनाका फूलहरू, संरचनाका मूलहरू र सम्भावनाका मनहरू पहिले नै प्रकाशित भएका छन्। विशेषतः कविता, मुक्तकमा कलम चलाउँदै आएका मोहन दुवाले साहित्यको अन्य विधामा पनि सिर्जनाका फूलहरू फुलाउँदै आएका छन्।

समालोचना, नियात्रा, निबन्ध, व्यक्तिवृत्त लगायतका विधामा सिर्जना गर्दै नेपाली साहित्य र भाषामा समर्पित हुँदै आएका मोहन दुवालको नवीनतम कृति ‘मनका स्पर्शहरू १’ हालै प्रकाशित भएको छ।

मुक्तक कविताको लघु रूप हो। यसले छोटो समयमा पाठकको मनमा ठूलो प्रभाव पार्न सक्ने शक्ति बोकेको हुन्छ। यसलाई अनुभूतिको एउटा सानो तरङ्गको रूपमा बुझे पनि हुन्छ। कवि मनबाट व्यक्तिएको यो तरङ्गले पाठकको मनमस्तिष्कमा तरङ्ग पैदा गर्नु नै यसको विशेषता हो। यस्तै विशेषतायुक्त मुक्तकसङ्ग्रह फेरि लिएर आएका छन् मोहन दुवाल।

मोहन दुवालद्वारा रचित ‘मनका स्पर्शहरू १’ मा एक सयवटा मुक्तकहरू सङ्ग्रहित छन्। यसभित्र रहेका प्रत्येक मुक्तक मानवीय संवेदनाले युक्त छन्। मुक्तकहरूभित्र सजीवता हुनु नै यस मुक्तकसङ्ग्रहको विशेषता मान्नुपर्छ। उनका मुक्तकहरू मानवीय हर्ष भएर फुलेका छन्। जीवनलाई सङ्घर्षका रूपमा बुझेका मुक्तककार दुवालले सङ्घर्षलाई नै गतिशील जीवन सम्झेका छन्।

सङ्घर्षदेखि थाक्न र भाग्न नजानेका मानिसहरू मात्र सफलताको शिखर आरोहण गर्न सक्छन् भन्ने गहन विचार मुक्तक भएर उठेको छ। दुःख र सुख जीवनका दुई पाटा हुन्। सुखमा नमात्तिने र दुःखमा नआत्तिने मानिसले मात्र जीवनरूपी रथलाई गति प्रदान गर्न सक्दछ। अधैर्यता नै मानिसको सबैभन्दा ठूलो कमजोरी हो। अधैर्यताले मानिसलाई कमजोर बनाउँछ। यस्तै जीवनोपयोगी भावनाका लहरहरू छन् मुक्तकमा। जन्म र मृत्युबीचको अवधि जीवन हो।

आफ्नै देह पनि त्यागेर जानुपर्ने यो जीवनमा छल, कपट, लोभ र घृणालाई अन्धकारसँग तुलना गरेका छन् मुक्तककारले मुक्तकमा। आफ्नो परिवार, समाज, आफ्नो राष्ट्रलाई माया नगर्ने खराब आचरण भएकाहरूलाई कपूतको संज्ञा दिंदै कुर्लेका छन् मोहन दुवाल मुक्तकका माध्यमबाट। कतै उनले सुन्दरता नरुचाउने दुष्ट मनहरूमाथि व्यङ्ग्य गरेका छन् भने कतै अभिमानको पिङमा मच्चिरहेका घमण्डीहरूलाई शब्दको झटारो पनि हानेका छन्। अहंकार भनेको कुभावना हो। सिद्धान्तलाई पेसामा बेच्नेहरू पतन हुनेछन्। यो इतिहासले साबित गरेकै कुरा हो। यस्तै–यस्तै भावशिखर चुलिएका छन् मुक्तक भएर।

मुक्तकहरूमा मुक्तककार दुवाल सामाजिक विकृति, विसंगतिको उछितो काट्छन्। मानिसजस्तै देखिने सिङ र पुच्छर नभएका पशु–मान्छे देखेर वाक्क बन्छन् उनी र शब्दहरू थुपारेर सुन्दर मुक्तक बनाउँछन्। कतै मुक्तकका माध्यमबाट दलालहरूको खोइरो खनेका छन् भने कतै कुभावना र कुविचारलाई तिरस्कार गर्दै सुभावनाको आगतलाई स्वागत गर्न दुई हात फैलाएर उभिएका छन् मुक्तककार।

केही मुक्तकहरू सौन्दर्यपानमा चुर्लुम्म डुबेका छन्। माया, प्रेम, प्रणय, चुम्बन, आलिङ्गनजस्ता विषयले पनि मुक्तकमा प्रशस्त स्थान पाएका छन्। शारीरिक होइन आत्मीय प्रेमभित्रको सुवासलाई स्पर्श गर्न खोजेका छन् कविले। कतै–कतै असन्तोषका स्वरहरू पनि सुनिएका छन्। विशेष गरेर नेताहरूको व्यक्तिवादी चरित्र, सत्तालिप्सा, गैरजिम्मेवारीपना, झुटा आश्वासनप्रति कविको ठूलो असन्तोष रहेको छ।

राष्ट्रियता, मानवता, स्वाभिमान, इमानदारिताबाट मात्र समुन्नत नेपालको निर्माण सम्भव छ। जबसम्म अन्याय, अत्याचार, शोषण र दमनमुक्त समाज बन्दैन तबसम्म नयाँ नेपाल बन्न सक्दैन भन्ने विचार बोकेर सिर्जनाको कर्ममा लम्केको हात्तीजस्तै अगाडि बढिरहेका मोहन दुवालका मुक्तकहरू पनि त्यसबाट अछूतो छैनन्।

LEAVE A REPLY