हिमालयन ट्राभल मार्ट शुरू



नेपाल समाचारपत्र,काठमाडौं
नेपालसहित हिमाली भेगका मुलुकहरूको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि राजधानीमा चारदिने हिमालयन ट्राभल मार्ट शुरू भएको छ। हिमाली क्षेत्रको पर्यटनको प्रवद्र्धनका लागि प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्गतको नेपाल च्याप्टर, पर्यटन मन्त्रालय पर्यटन बोर्डलगायतले कार्यक्रम आयोजना गरेको हो।

‘नेपाल, गेट वे टु हिमालय’ भन्ने नारालाई साथ दिनका लागि नेपालसहित भारत, भूटान, पाकिस्तान र चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताउनुभयो। हिमालयन ट्राभल मार्टले पहिलो दिन इन्टरनेसनल ट्राभल ब्लगर एन्ड मिडिया कन्फरेन्स आयोजना गरेको थियो।

अध्यक्ष पाण्डेले हिमालय ट्रेललाई विकास र प्रवद्र्धन गर्नका लागि पाटाले सहयोग गरेको र नेपाल सरकारले त्यसलाई प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो। हिमालयन ट्राभल मार्टलाई विश्वव्यापी बनाउन संसारभरका ब्लगरको सहयोग लिइएको र उनीहरुमार्फत नेपालको पर्यटन क्षेत्रले नयाँ मोड लिने विश्वास उहाँले व्यक्त गर्नभयो। नेपाललाई हिमालयको प्रवेशविन्दु बनाउने, नेपालसँग अन्य देशमा जोडिने हिमालयको सम्पूर्ण प्याकेज बनाएर अन्तर्राष्ट्रिय बजारमा बेच्ने योजना रहेको छ।

त्यस्तै पाटाका प्रमुख कार्यकारी अधिकृत डा. मारियो हार्डीले नेपालले पर्यटनको क्षेत्रबाट निकै फाइदा लिन सक्ने बताउनुभयो। हार्डीले नेपालले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा लैजान नसकेको भन्दै सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले मिलेर चाँडोभन्दा चाँडो प्रचारप्रसार र सेल मिसनमा लाग्नुपर्ने सुझाव दिनुभयो।

पर्यटन बोर्डका पूर्वअध्यक्ष प्रचण्डमान श्रेष्ठले हिमालयको रेन्जमा नेपाल केन्द्रमा रहेकाले नेपालले यो क्षेत्रको पर्यटनलाई नेतृत्व लिनुपर्ने बताउनुभयो। हिमालय क्षेत्रलाई पोलिटिकल नक्साभित्र हेर्न नहुने भन्दै छिमेकी सबै देशले मिलेर यो क्षेत्रको प्रवद्र्धन र विकास गर्नुपर्ने उहाँले बताउनुभयो।

मेलामा ५३ वटा मुलुकका २ सय ५० बढी ट्राभल ब्लगर राइटर, पर्यटन व्यवसायीलगायतको उपस्थिति रहेको छ। नेपाल पर्यटन बोर्ड, पाटा नेपाल च्याप्टर, नाट्टा, पर्यटन मन्त्रालय र होटेल एसोसिएसन यो कार्यक्रमको आयोजक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्