‘२० वर्षपछिको अवसर गुमाउनु हुन्न’



अझै अन्योल

लक्ष्मीकुमार साह, जलेश्वर

असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले गरेको आन्दोलन र सरकारले निर्वाचनको मिति पटकपटक सारिनुका कारण जिल्लाका मतदाता अन्योलमा परेको पाइएको छ।

सरकारले जेठ ३१ गते हुने भनिएको निर्वाचन असार ९ गते हुँदै फेरि असार १४ गते सारिएको छ। सरकारले पछिल्ला दुई दिनमा दुईपटक दोस्रो स्थानीय तहको मिति सारेको छ।

राजपाको आन्दोलन र निर्वाचन मिति सारिँदा निर्वाचनका लागि जिल्लामा खटेका पार्टीका कार्यकर्ता र सर्वसाधारणमा समेत अन्योल बढेको छ। केही दिनयता दुईपटक निर्वाचन मिति सारिएकाले तोकिएको मितिमा चुनाव हुने र नहुनेमा मतदातामा आशंका देखिएको छ।

राजपाबाहेकका राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले, एमाओवादीलगायत केही साना दलहरु स्थानीय तहको निर्वाचनका लागि सम्भावित उम्मेदवार चयनका लागि जुटिरहेका बेला सरकारले निर्वाचनको मिति सारेपछि चुनावी रणनीति बनाउने तयारीमा रहेका दललगायतका कार्यकर्तासमेत अन्योलमा परेका छन्।

मतदातामा चुनाव हुने र नहुनेबारे अन्योलता देखिएको मतदाता शिक्षामा खटिएका बाग्मती समाज सर्लाहीका पप्पुकुमार साहको अनुभव छ। निर्वाचनको मिति सारिँदा सर्वसाधारणमा चुनावप्रति अन्योल बढेको छ। अन्योल हटाउन सरकारले निर्वाचनको ठोस वातावरण बनाउन जरुरी रहेको साहले बताए।

निर्वाचन आयोगले दल दर्ता गरेर निर्वाच चिह्न दिनुपर्ने, जनसंख्याको आधारमा स्थानीय तह बढाउनुपर्ने, दोस्रो स्थानीय निकायको चुनाव हुनुभन्दा पहिले संविधान संशोधन हुनुपर्नेजस्ता माग अघि सारेर राजपाले आन्दोलन गरिरहेको छ। राजपाले थालेको आन्दोलनका कारण चुनावमा नजाने र चुनाव बिथोल्न आन्दोलनका कार्यक्रम तय गरेपछि मतदाता अन्योलमा छन्। फेरि पनि स्थानीय तहको चुनाव हुन्छ कि हुँदैन भन्ने मतदाता द्विविधामा छन्।

नेपाली कांग्रेस, एमाले, माओवादीलगायत केही साना दलहरुले अहिलेसम्म उम्मेदवारको नामावलीमा टुङ्गो लगाउन सकेका छैनन्। ती दलहरु खास गरी आन्तरिक छलफललगायत पार्टीका उम्मेदवार कसरी जित्छ त्यसका लागि आफ्ना कार्यकर्ताहरुलाई जिल्लामा निर्देशन दिई खटाइरहेका छन्। तर मतदाताहरुले ती दलहरुलाई चुनाव कहिले हुन्छ? तपार्इंहरुको चुनावको तिथि पटकपटक किन सारिन्छ? भनी प्रश्न गर्छन्।

दलहरुमा खास गरी कांग्रेस, एमाले र एमाओवादी चुनावमा जान तयार भए पनि राजपा नेपाल चुनावमा जाने नजाने विषयमा अहिलेसम्म निष्कर्षमा नपुग्नाले पटकपटक चुनाव सारिएको नेपाली कांग्रेसका नगर सदस्य राजीव झाले बताए। २० वर्षपछि बल्ल चुनाव हुन लागेकोले यो अवसर कसैले पनि गुमाउन नहुने जलेश्वर १ का स्थानीय समाजसेवी अभियन्ता रञ्जितकुमार राउतले बताए।

प्रतिक्रिया दिनुहोस्