भोट माग्दै सांसद, चुनाव सार्दै सरकार



दयाराम पण्डित, बाजुरा

सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे हिजो–आज मत माग्न जनताको घरदैलोमा व्यस्त छन्।

आसन्न निर्वाचनलाई कांग्रेसको पक्षमा पार्न बाजुराको काँडा क्षेत्र हुँदै सदरमुकाम मार्तडीमा उनी घरदैलोमा पुगेका हुन्। पछिल्लो समयमा कांग्रेसले तय गरेको आर्थिक समृद्धको नारा र देशका सबै दललाई मिलाएर लैजान सक्ने शक्ति नेपाली कांग्रेस मात्र भएको पाण्डेको दाबी छ। विगतका राजनीतिक परिवर्तनमा कांग्रेसको नेतृत्वमा भएका उपलब्धि र वर्तमानको आर्थिक समृद्धिको नारा उनका प्रमुख चुनावी एजेन्डा रहेका छन्।

उनी गएको बुधबार बिहान बढिमालिका नगरपालिककाको सदरमुकाम मार्तडी तल्लोवाडा, सनाइवाडा, बढिमालिका नगरपालिकका मेयरका उम्मेदवार पदम बडुवालको नेतृत्वलाई मतदान गर्न अनुरोध गर्दै थिए।

मतदातासँग नेता पाण्डेले भने– ‘हिजोको ऐतिहासिक परिवर्तन कांग्रसकै नेतृत्वमा भए र अब गाउँबाट आर्थिक समृद्धि हुनुपर्छ।’

स्थानीय तहमा कांग्रेस नेतृत्वमा स्थानीय सरकार गठन भएमा गाउँको समृद्धिका सवालमा बीपीको समाजवाद अक्षरशः पालना गर्ने पाण्डेको कथन थियो। सरकारले विनियोजन गरेको बजेट पूर्णरूपमा कार्यान्वयन गर्ने योजना रहेको र आफ्नो नेता र आफ्नो विकास आफैं छानेर गाउँको विकासमा लाग्न अनुरोध पनि गरेका छन्।

त्यस्तै, अर्का सांसद एवं नेकपा एमाले वैकल्पिक पोलिटब्युरो सदस्य कर्णबहादुर थापा पनि यतिबेला मत माग्न बाजुरेली जनताको घरदेलोमा व्यस्त छन्। नेपालको संविधान २०७२ लाई कार्यन्वयन गर्न स्थानीय तहलाई आत्मनिर्भर बनाई देश बलियो बनाउन गाउँ बलियो बनाउने अभियानमा लाग्न कार्यकर्तालाई अभिपे्ररित गर्दै छन्।
नेकपा एमालेले दिएको वृद्धभत्ता, संविधान कार्यान्वयन र भारतीय नाकाबन्दीमा केपी ओलीले देखाएको राष्ट्रवाद उनका प्रमुख चुनावी नारा छन्।

लोकतन्त्रको विकास टुप्पाबाट नभई जराबाट गर्नुपर्ने उनको भनाइ छ। स्थानीय तहका २२ वटा कानुन बनाई कार्यान्वयन गर्न आफ्नो दल लागिपर्ने उनले बताए। ‘केन्द्रको लोकतन्त्रले गाउँको विकास हुन सकेन अब गाउँको लोकतन्त्र विकास गर्न स्थानीय तहको निर्वाचन गर्न सकेमात्र समृद्ध गाउँ बन्नेछ’ –नेता थापाले भने।

सडक, शिक्षा, सिँचाइ, सामाजिक न्याय र वृद्धभत्ता आफ्नो पार्टीको एजेन्डा रहेको उनले बताएका छन्। नेकपा एमालेको सरकार आए जनता समृद्ध बन्ने एजन्डा छ। एक हप्ताअघि बाजुरा आएका सांसद तथा एमाले नेता थापाले बुढिगंगा नगरपालिका र छेडेदह गाउँपालिकाका विभिन्न चुनावी सभा सम्पन्न गर्दै मंगलबार मात्र सदरमुकाम मार्तडीको एमालेले आयोजना गरेको चुनावी सभा सकाएको छ। स्थानीय तहको विकास गर्न एमालेको स्थानीय सरकारको जिम्मेवारी दिन जनतासँग उनले हारगुहार गर्दै छन्।

चुनावी सभालाई सम्बोधन गर्न बाजुरा पुगेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंगलबार सदरमुकाम मार्तडीको चुनावी आमसभालाई सम्बोधन गरे। चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– ‘यो सरकारले चुनाव गराउन चाहेकै छैन।’

बाजुराका ४ नगरपालिका र ५ गाउँपलिकाका गाउँ–बस्तीमा चुनावी सरगर्मी बढेको छ। नेताहरु आ–आफ्ना प्रतिबद्धता जनतालाई सुनाउँदै आएका छन्।
यद्यपि पहिलो चरणको निर्वाचन हुनुअगाडि गाउँ गएका राजनीतिक कार्यकर्ता चुनाव सर्ने सुनेपछि सदरमुकाम फर्केका थिए। जेठ ३१ हुने भनेपछि फेरि गाउँ गएका थिए। असार ९ गते हुने भएपछि फेरि सदरमुकाम फर्के। फेरि असार १४ गतेको मिति तय भएपछि अब कतै दोस्रो चरणको निर्वाचन नहुने त होइन भन्ने आशंका जनमानसमा उब्जेको छ।

प्रतिक्रिया दिनुहोस्