८० न्यायाधीशको अन्तिम छिनोफानो असार १ गते, पराजुलीको सुनुवाइ आज



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्ति गरेको विरुद्धमा परेको रिट निवेदनमा आगामी असार १ गते निर्णय सुनाउने भएको छ।
न्यायाधीशहरू दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हाको पूर्ण इजलासले बिहीबार उच्च अदालतका ८० न्यायाधीश नियुक्तिविरुद्धको अन्तिम निर्णय आगामी असार १ गते सुनाउने आदेश भएको सर्वोच्च अदालतबाट थाहा भएको छ। न्यायाधीश नियुक्तिमा वरिष्ठतालाई ध्यान नदिएको र सरकारी वकिललाई प्राथमिकतामा नराखेको उल्लेख गरी नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता तोयानाथ ढुंगाना, डिलहरि शर्मा, सुरेन्द्रप्रसाद यादव र प्रकाशकुमार काफ्लेले छुट्टाछुट्टै रिट निवेदन दायर गर्नुभएको थियो।

सो विषयमा बिहीबार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बहस गर्नुभएको थियो। न्यायपरिषद्ले गत पुस २९ गते उच्च अदालतका लागि विभिन्न क्षेत्रबाट ८० जना न्यायाधीशको नियुक्ति गरेको थियो। यसैबीच भावी प्रधानन्यायाधीशका रूपमा चर्चामा रहनुभएका गोपालप्रसाद पराजुलीका विरुद्धमा परेको रिटको सुनुवाइ आज शुक्रबार हुन सक्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्