नपड्किने सिलिन्डर



नेपाल समाचारपत्र
हेटौंडा
क्लासिक ट्रेड इन्टरनेसनल प्रालिले कम्पोजिट सिलिन्डर हेटौंडाको बजारमा ल्याएको छ। हेटौंडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बिक्री शुरू भएको घोषणा गरिएको हो।

कार्यक्रममा उपमहानगर मेयर हरिबहादुर महत, ग्यास बिक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्याल, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने र उद्योग संघ अध्यक्ष नवराज अर्याललगायतले शुभकामना दिएका थिए।

भारतको मल्टीनेसनल कम्पनी टाइम टेक्नोप्लास्टले उत्पादन गरेको लाइट सेफ ब्रान्डको एलपी सिलिन्डर नेपालको एनएल ग्यास उद्योग लिमिटेडमार्फत् बुधबारदेखि हेटौंडामा बिक्री वितरण थालिने भएको हो। यसले फलामे सिलिन्डर बिक्री गर्दै आएको हेटौंडाको सहारा ग्यासलाई व्यावसायिकरूपमा असर गर्ने देखिएको छ।

पहिलोपटक बजारमा ल्याइएको कम्पोजिट सिलिन्डरको मूल्य १० हजार ६ सय २५ रुपियाँ तोकिएको क्लासिक ट्रेड इन्टरनेसनलका अध्यक्ष कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो। आधुनिक प्रविधिबाट निर्मित कम्पोजिट सिलिन्डर कार्बन कम्पोजिट फाइवरले बनेको हुँदा फलामे सिलिन्डरको तुलनामा शतप्रतिशत सुरक्षित हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो।

फलामको सिलिन्डरमा रहेको ग्यास शून्य डिग्री सेन्टिग्रेडमा जम्छ भने कम्पोजिट सिलिन्डरमा रहेको ग्यास माइनस ४० डिग्री सेन्टिग्रेड चिसोमा पनि नजम्ने श्रेष्ठले दाबी गर्नुभयो।

शुरूमा सात किलो तौल भएको सिलिन्डर बजार ल्याइएको जानकारी दिँदै चाँडै नै पाँच किलो र ११ किलो तौलको सिलिन्डर बजारमा ल्याउने तयारी भएको श्रेष्ठको भनाइ छ। टाइम टेक्नोप्लास्टका अनुसार यस्तो सिलिन्डर ३० वर्षसम्म केही हुँदैन। कम तौल भएकाले सजिलै ओसारपसार गर्न सकिने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्