आर्थिक गतिविधि बढाउन जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण



नेपाल समाचारपत्र
ललितपुर
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक सम्भावनालाई मूर्त रूप दिन स्थानीय तहको जनप्रतिनिधिको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने धारणा राख्नुभएको छ।

ललितपुर उद्योग वाणिज्य संघले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिको स्वागत तथा बधाई कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो। कला संस्कृतिले भरिएको ललितपुर जिल्लामा हस्तकला, पर्यटन प्रवद्र्धन र दक्षिणी भेगमा कृषिजन्य उत्पादनको प्रबल सम्भावना रहेको जनाउँदै महासंघका अध्यक्ष राणाले त्यसलाई मूर्त रूप दिएर आर्थिक विकास गर्न जनप्रतिनिधिले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले एक जिल्ला एक उत्पादनअन्तर्गत ललितपुरलाई हस्तकलाको जिल्ला घोषणा गरिएकाले लुभु र बुंगमतीलाई हस्तकलाग्रामको रूपमा घोषणा गर्नुपर्नेमा जोड दिनुभयो।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतमा उद्योग वाणिज्य संघ र महानगरपालिकाको बीचमा भएको सहमति अनुरूप महानगरको आर्थिक विकास गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। प्रमुख महर्जनले जिल्लामा व्यावसायिक वातावरण तयार गर्न आफ्नो सशक्त पहलकदमी हुने पनि बताउनुभयो।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य सघका अध्यक्ष सविन श्रेष्ठले आर्थिक विकासको लागि संघले अघि सारेको एजेन्डा र कार्यक्रमा निर्वाचित जनप्रतिनिधिले निरन्तरता दिने विश्वास व्यक्त गर्दै जिल्लाको समृद्धि र विकासको लागि सबैसँंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो।

उहाँले संघको सहयोगमा स्थानीय तहले उठाउन गरेको करको २५ स्थानीय तहले व्यावसायिक वातावरण तयार गर्न खर्चिनुपर्ने पनि माग गर्नुभयो। सो अवसरमा महानगरपालिकासहित महालक्ष्मी, गोदावरी, नगरपालिका, बाग्मती, कोञ्जोसोम, र महाँकाल गाउँपालिकाका प्रमुख र उपप्रमुख सबैलाई संघका निर्वतमान अध्यक्ष अजरमान जोशी र अध्यक्ष श्रेष्ठल स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्