विद्युत्मा शाखा प्रमुखको मनपरी



संजय कार्की, गौर, रौतहट
सरकारले उज्यालो अभियान चलाइरहँदा नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख विनोद यादवले मनपरी गरेको खुलेको छ। प्रमुख यादवले रकम लिएर २५ जनाभन्दा बढी ज्यालादारी कर्मचारी थपेको खुल्न आएको छ। यसअघि कार्यरत ६४ जना दैनिक ज्यालादारी कर्मचारीले पाँच महिनादेखिको तलब पाउनबाट वञ्चित रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख यादवले रकम लिएर २५ भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको छ।

उज्यालो अभियानअन्तर्गत राज्यले विद्युत् चुहावट र फजुल खर्च नियन्त्रण गर्न खोजे पनि नेपाल नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख यादवका कारण कार्यालय लथालिंग बनेको छ भने सेवाग्रही मर्कामा परेका छन्। प्राधिकरणका सहलेखापालद्वय सुरेन्द्र तिवारी र अशोक पटेललाई लगत फाँटको जिम्मा दिए पनि तोकिएको कार्यबाट अटेर गरेको पाइएको छ। पर्साबाट सरुवा भई आएका ती दुवैले दुई सातामा एकपल्ट आएर हाजिर गर्दै तलब र भत्ता बुझ्ने गरेको स्रोतले बतायो।

मंगलबार हाजिर गरेर उनीहरू घर गएका छन् तर एक सातापछि आएर हाजिर गर्छन् तैपनि उनीहरूको हाजिर गयल हुँदैन। स्रोतका अनुसार गएको दुई महिनाको १ सय २० घण्टा अतिरिक्त समय थप गरी भत्ता बुझेका छन्। प्रमुख यादवले शिवदयाद महरा, सन्तोषकुमार पटेल, कन्दन यादव, राकेश ठाकुर, शेष सराजुल, दीपेन्द्रकुमार श्रीवास्तव, पवनकुमार यादव, सोनु पाठक, निरञ्जन चौधरी, विकेश यादव, नरेश गुप्ता, लक्ष्मी पाठक, स्रञ्जय ठाकुर, सुबोध यादव, मुकेश्वर पासवान, रामकिशोर यादव, राधेश्याम यादव, रोशन पटेल, रामबाबु साहलाई दैनिक ज्यालादारी कर्मचारीमा भर्ना गरेका छन्।
यस विषयमा नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख विनोद यादवसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्। सरकारले प्रस्तुत गरेको बजेटमा ‘उज्यालो नेपाल अभियान’ लाई थप योजनाबद्ध तवरले अगाडि बढाउने नीति अगाडि सारे पनि सो अभियान कर्मचारीकै कारण असफल हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्