चुनाव प्रचार गर्न गएका दलका नेतालाई स्थानीयले गाउँ पस्न दिएनन्



धनवीर दाहाल, रुकुम

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रचारप्रसार गर्न गाउँ पसेका दलका नेताहरूलाई तकसेराबासीले फर्काएका छन्। पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने माग गर्दै विगत चार महिनादेखि आन्दोलनमा रहेका तकसेराबासीले कुनै पनि राजनीतिक दलका जिल्ला स्तरका नेतालाई चुनाव प्रचारका लागि गाउँ पस्न नदिने निर्णय गरेका हुन्।

सो गाउँपालिकाको केन्द्र तकसेरामा नहुँदासम्म आन्दोलन नरोकिने उनीहरूको भनाइ छ। तर उम्मेदवारले भने घरदैलो तथा भेटघाट कार्यक्रम गर्न पाउने संघर्ष समितिका सदस्य राजकुमार बुढाले बताउनुभयो। बुढाले भन्नुभयो– ‘उम्मेदवार स्थानीय भएकाले उसले आफ्ना कुराहरू मतदातासमक्ष राख्न पाउँछ तर जिल्ला स्तरका नेता तकसेरामा जान पाउँदैनन्।’ साविकको तकसेरा गाविसका सबै क्षेत्रका बासिन्दाले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेरामा हुनुपर्ने भन्दै जिल्ला समन्वय समितिको कार्यालयमा घेराउलगायतका आन्दोलनका कार्यक्रमहरू गरिसकेका छन्। सरकारले साविकको कोल गाविसमा पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तोकेपछि उनीहरू थप आक्रोशित भएका हुन्।

चुनाव प्रचारका लागि तकसेरा पुगेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री केशरमान रोकालाई समेत गाउँ पस्न नदिएपछि रोकालगायतको टोली सिधै हुकाम पुगेको स्रोतले बताएको छ। उम्मेदवारले आफ्नो ढंगले प्रचार गर्न पाउने तर जिल्ला स्तरको नेता तथा पुथाउत्तरगंगाभन्दा बाहिरको कुनै पनि ठाउँको व्यक्ति वा समूहले चुनाव प्रचार गर्न नपाउने उनीहरूले बताएका छन्।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले अवैज्ञानिक तरिकाले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र बनाएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन्।

आयोगले आफैं बनाएको कार्य सर्त तथा मादण्ड मिचेर अवैज्ञानिक तरिकाले पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र अपायक पर्ने ठाउँमा प्रस्ताव गरेको आन्दोलनकारीले बताउँदै आएका छन्। आयोगको कार्य सर्त र मापदण्डअनुसारको ठाउँ र संरचना उक्त गाउँपालिकाको तकसेरामा मात्रै रहेको दाबी आन्दोलनकारीको छ। तर सो गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी अभियानलाई भने निरन्तरता दिएका छन्। यति बेला यार्सागुम्बा टिप्ने सिजन शुरू भएकाले कतिपय टोल भने सुनसान भएपछि उम्मेदवारहरू फर्कने गरेका छन्। मतदातालाई आफ्नो पक्षमा मत माग्दै हिँडेका उम्मेदवारहरूले मतदाता नभेटेपछि रित्तै फर्किने गरेका छन्। यार्सागुम्बा टिप्ने सो क्षेत्रका बासिन्दा सबै बुकी लेकतिर लागेका छन्।

प्रतिक्रिया दिनुहोस्