त्रिविको दुईदिने कार्यशाला सम्पन्न



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन विश्वविद्यालय उच्चशिक्षा सुधार परियोजनाको आर्थिक सहयोगमा समन्वय महाशाखाले त्रिविको नीति तथा कार्यक्रमको प्रसार र कार्यान्वयन सम्बन्धी दुईदिने कार्यशाला गोष्ठी जेठ १५ र १६ गते नगरकोटमा सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालयमा भइरहेको पछिल्ला गतिविधिका बारेमा उपत्यकाका क्याम्पस प्रमुखहरूलाई जानकारी गराउने र विभिन्न अन्य प्रशासनिक एवं व्यवस्थापकीय कार्यमा क्याम्पस प्रमुखहरूसँग छलफल गरी अघि बढ्ने योजनाअनुसार नै कार्यशाला गोष्ठी आयोजना गरिएको जनाइएको छ।

कार्यक्रममा त्रिविका नीति तथा नियममा देखिएका विविध कठिनाई, विश्वविद्यालयको गुणस्तर अभिवृद्धिका लागी चाल्नुपर्ने रणनीतिक योजना, शैक्षिक उत्कृष्टताका लागि त्रिविले लिएको नीति तथा गरिएका प्रयासहरू, त्रिविका निरिक्षण प्रक्रिया, बेरुजुको समस्या र समधानका उपायहरू, स्वायत्तता सम्बन्धी विविधि पक्षहरू, आंगिक क्याम्पसका चुनौती र समाधान, सार्वजनिक खरिद ऐन र यसको कार्यान्वयन पक्ष, त्रिविअन्तर्गतका निकायहरूको अनुगमनको औचित्य र प्रभावकारिता, गुणस्तर प्रमाणीकरण तथा प्रत्यायोजनाका बारेमा दुई दिनसम्म अत्यन्त गहन छलफल भएको थियो।

कार्यक्रममा त्रिविलाई मुलुककै अग्रणी शैक्षिक संस्थाको रूपमा भविष्यमा पनि अघि बढाइरहन प्राविधिक विषयलाई प्राथमिकता दिने, क्षमतावान् शिक्षकहरू त्रिविमा प्रवेश गर्ने वातावरण मिलाउने, शिक्षक तथा कर्मचारीलाई नियमित तालिम दिने, आर्थिक अनुशासन कायम गर्दै लैजाने, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिने र अनुसन्धानमा देखिएको सुस्ततालाई हटाउँदै अघि बढ्ने कुरामा त्रिविअन्तर्गतका सबैपक्ष बीच समन्वय गरिने भएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै त्रिविका उपकुलपति प्राडा तीर्थराज खानियाले गुणस्तरीय उच्चशिक्षामार्फत् त्रिविको गरिमा उच्च राख्न आफ्नो टिम लागिपरिरहेको बताउनुभयो। त्रिविमा देखिएको शैक्षिक एवं प्रशासकिन समस्याहरू नीतिगत तहबाटै समाधानका लागि कैयौं सुधारात्मक कामहरू भइरहेको समेत क्याम्पस प्रमुखहरूलाई अवगत गराउनुभयो। शैक्षिक गुणस्तर कायम गर्न क्याम्पसहरूलाई स्वायत्ततामा जान अनुरोध गरिएको भन्दै उहाँले स्वायत्तताबिना गुणस्तरीयता कायम गर्न अप्ठेरो हुनेसमेत बताउनुभएको थियो।

त्रिविका शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले क्याम्पस प्रमुखहरूनै शैक्षिक गुणस्तर कायम गर्ने प्रमुख वहाक भएको बताउनुभयो। पदाधिकारीले तय गरेको सम्पूर्ण एजेन्डा कार्यान्वयन गर्न क्याम्पस प्रमुखहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै उहाँले सकरात्मक दृष्टिकोणका साथ काम गर्न क्याम्पस प्रमुखहरूलाई उत्प्रेरित गर्नुभयो। त्रिविले यसै वर्षदेखि उपत्यकाका सम्पूर्ण क्याम्पसहरूमा सेमेस्टर सिस्टम लागू गरिसकेकाले क्याम्पसहरूले केही चुनौती सामना गर्न तयार हुनुपर्ने बताउनुभयो। ‘पुरानै ढाँचाले उच्चशिक्षा चल्दैन केही सुधारका लागि केही जोखिम र नयाँ पद्धति अवलम्बन गर्न सम्पूर्ण प्राध्यापक तयार हुनैपर्छ’ भन्दै उहाँले सेमेस्टर सिस्टम लागू गर्न सहयोग गर्नुहुने सम्पूर्ण क्याम्पस प्रमुखहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा त्रिवि सेवा आयोगका सदस्य प्राडा केदारनाथ घिमिरेले संगठनात्मक विकासका लागि त्रिविमा दक्ष शिक्षक एवं कर्मचारी नियुक्ति गर्न कुनै पनि सांगठनिक दबाबलाई निस्तेज गर्नुपर्ने बताउनुभयो।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले आर्थिक कठिनाइका बावजुत पनि त्रिविको शैक्षिक गुणस्तरका लागी आफूहरू प्रयत्नशील रहेको भन्दै प्राज्ञिक अनुशासनलाई कायम गर्न क्याम्पसहरूलाई निर्देशन दिनुभयो। नीतिगत अन्योलताहरूलाई हटाई त्रिविका सम्पूर्ण क्याम्पसहरूलाई आन्तरिक प्रर्तिस्पधाको माध्यामवाट सृदृढ र सबल बनाइने उहाँको विश्वास रहेको थियो। विश्व बैंकका प्रतिनिधि मोहन अर्यालले त्रिविको उच्चराजनीतिक हस्तक्षेपको शिकार बनिरहेको भन्दै दक्ष एवं क्षमतावान् व्यक्तिलाई त्रिविका पदाधिकारीदेखि क्याम्पस प्रमुखहरूको नियुक्तिसमेतमा अवसर दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। त्रिविले आफूलाई स्वावलम्बी बनाउन प्रयत्न नगरे भविष्यमा ठूलो आर्थिक संकट पर्ने सक्ने भन्दै उहाँले सम्पूर्ण क्याम्पसहरूलाई स्वायत्ततामा गई क्यामपसको शैक्षिक एवं भौतिक विकासमा लाग्न अनुरोध गर्नुभएको थियो। कार्यक्रममा गुणस्तर प्रमाणीकरण एवं प्रत्यायोजनाका बारेमा क्याम्पस प्रमुखहरूलाई जानकारी गराउँदै विश्वविद्यालय अनुदान आयोगका प्राविधिक परामर्शदाता प्राडा हृदयरत्न वज्राचार्यले त्रिविका सम्पूर्ण क्याम्पसहरूलाई गुणस्तर प्रमाणीकरण गर्न सुझाव दिनुभएको थियो।

त्रिवि उच्चशिक्षा सुधार परियोजनाका संयोजक प्राडा शंकरप्रसाद भण्डारीले क्याम्पसहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, आफ्नो पाठ्यक्रम आफैं तयार गर्न र नयाँ विषय थप गरी क्याम्पसलाई गतिशील स्वायत्तताको नीति अवलम्बन गरिएको भन्दै स्वायत्ततामा गई क्याम्पसलाई सक्षम बनाउन आग्रह गर्नुभयो।

कार्यक्रममा तीन वटा छुट्टाछुट्टै विषयमा तीन समूह बनाएर छलफल गरिएको थियो। पहिलो समूहले ‘त्रिविको शैक्षिक गुणस्तर सुधारमा स्वायत्तता’ सम्बन्धी विषयमा छलफल गरी सुझाव प्रस्तुत गरेको थियो भने दोस्रो समूहले ‘त्रिवि सार्वजनिक खरिद ऐन र त्यसको प्रयोग’ को बारेमा छलफल गरेको थियो। तेस्रो समूहले ‘त्रिवि निरीक्षण प्रक्रियाको समस्या र पहिचान’ शीर्षकमा छलफल गरी सुझाव पेस गरेको थियो।

कार्यक्रममा नेपाल प्राध्यापक संघ सभापति रामेश्वर उपाध्याय र त्रिवि प्राध्यापक संघका सभापति योगेन्द्रनारायण बडवडियाले त्रिविको शैक्षिक उन्नयनका लागि प्राध्यापकहरूलाई उपयुक्त तालिम एवं प्रोत्साहन भइरहनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा त्रिवि समन्वय महाशाखका प्रमुख दामिनी वैद्यले उपस्थिति सबै पदाधिकारी, डीन, कार्यकारी निर्देशक, क्याम्पस प्रमुखलगायत उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा उपत्यकाका २२ वटा क्याम्पसका क्याम्पस प्रमुखसहित, सम्पूर्ण अध्ययन संस्थानका डीन, अनुसन्धान केन्द्रका निर्देशक एवं महाशाखा प्रमुखसमेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्