श्वेताद्वारा माझीगाउँमा बस्ती निर्माण शुरू



नानीराम नेपाल, सिन्धुपाल्चोक

विनाशकारी भूकम्पको २ वर्ष बितिसक्दा पनि गाउँबस्तीमा पुनर्निर्माणले गति लिन नसकिरहेका बेला नायिका श्वेता खड्काले उनका नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको स्मृतिमा स्थापना गरेको श्वेताश्री फाउन्डेसनले चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको माझीगाउँमा एकीकृत बस्ती निर्माणकार्य शुरु गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख डा. गोविन्द पोखरेल र नायिका एवं फाउन्डेसनकी अध्यक्ष श्वेता खड्काले सोमबार संयुक्तरूपमा भूकम्पपीडितको घर शिलान्यास गर्दै एकीकृत बस्ती विकास परियोजनाको शुभारम्भ गरे। स्थानीय भूकम्पपीडित एकल महिला सुन्तला माझीको घरको जग खनेर एकीकृत बस्ती विकास परियोजना कार्यान्वयन शुरु भएको हो। आगामी १ वर्षभित्र माझीगाउँमा ६३ वटा घर निर्माण गरी भूकम्पपीडित स्थानीयलाई हस्तान्तरण गर्ने श्वेताले जानकारी गराइन्। ‘आगामी १ वर्षभित्र निर्माण सम्पन्न गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्नेछौंं’ –नायिक खड्काले भनिन्। भूकम्पपछि यस बस्तीमा आइपुग्दा स्थानीयको दयनीय अवस्था देखेपछि श्वेताले बस्ती निर्माण गर्ने वचन दिएर गएकी थिइन्। ‘माझीगाउँले श्वेताश्री फाउन्डेसन जन्माएको हो, सहयोगी मनहरुसँग हातेमालो गर्दै बस्ती ठड्याउने छौंं’ –उनले भनिन्।

डा. पोखरेलले एकीकृत बस्ती विकासमा सरकारले सहयोग गर्ने वचन दिए। बस्ती विकास परियोजना शिलान्यासकै दिन झण्डै १० लाख रुपियाँ रकम फाउन्डेसनलाई प्रदान गरिएको छ। विभिन्न संस्था तथा व्यक्तिले माझीगाउँको एकीकृत बस्ती विकासका लागि सहयोग रकम प्रदान गरेका हुन्। कार्यक्रममा बुम रेमिट्सले ७ लाख ११ हजार रुपियाँको चेक प्रदान गरेको छ। सरसफाइ अभियन्ता एलबी टण्डनले १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गर्न वचनबद्धता गरेका छन् भने स्व. श्रीकृष्णका साथी सुभाष पोखरेलले १ लाख रकम प्रदान गरेका छन्। करुणा शर्मा भुसालले ५१ हजार, अभिनेतृ वसुन्धरा भुसाल परिवारबाट २५ हजार, शैलेश खड्काले २५ हजार र कुशल जोशीले २५ हजार रकम सहयोग गरेका छन्। शिलान्यास कार्यक्रममा पूर्वप्रधानसेनापति रुकमांगत कटवाल, डा. भोला रिजाल, नायक निखिल उप्रेती, अभिनेतृ वसुन्धरा भुसाल, गायक प्रमोद खरेल, रविनराज शिवाकोटी, हास्य अभिनेता जितु नेपाललगायत कलाकारको जम्बो टोली माझीगाउँ आइपुगेको थियो।

प्रतिक्रिया दिनुहोस्