प्रष्टैप्रष्ट



प्रधानमन्त्री पुकदाले हिजो संसदमा नीति तथा कार्यक्रमको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिंदा पटक–पटक ‘प्रष्ट’ भन्ने शब्द प्रयोग गरेको देखेर धरहरा वरपर थुप्रैले हैट हाम्रा प्रधानमन्त्रीले कति यो शब्द प्रयोग गरेको होला भन्ने टिप्पणी गरेको देखियो,सुनियो ।

उहाँले भारतका प्रधानमन्त्रीसँगपनि प्रष्ट, चीनका राष्ट्रपतिसँग पनि प्रष्ट, सबैसँग प्रष्ट कुरा गर्नुभएछ । उहाँले प्रधानमन्त्री भएपछि प्रष्ट कुरा गर्ने र पहिला चाहिं सधै अस्पष्ट कुरा गर्थें भन्न खोज्नु भएको त होइन होला ? सधै प्रष्ट बोल्छु भन्नु भएको हो कि कुरा नबुझेर धरहरा निकटकाहरु हैरान छन् है पाठकबृन्द । उहाँले आफूले अनेक झमेला व्यहोरेर पनि विपक्षीलाई जिताइदिएको समेत भन्न भ्याउनु भयो । पहिला गिरिजाप्रसाद कोइरालाले पनि माओवादीलाई जिताउन आफू हारिदिएको कुरा अनौपचारिक कुराकानीमा बताउने गर्नु भएको धरहरालाई याद छ ।

अहिले कमरेड पुकदाको पनि त्यस्तै कुरा आयो । जे होस् हामीले केही न केही भनिरहने प्रधानमन्त्री पाएका छौं। उहाँले आफू प्रष्ट भन्दा यसअघिका चाहिं अस्पष्ट थिए भन्नु भएको हो कि ? कुरा विस्तारै बुझिएला भन्ने यो धरहरालाई लागेको छ ।

प्रतिक्रिया दिनुहोस्