उपाधिमाथि बार्सिलोनाको ह्याट्रिक



लन्डन, (एजेन्सी)
बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमाथि हृयाट्रिक गरेका छन् ।

शनिबार राति भएको फाइनलमा बार्सिलोनाले आलाभेसलाई ३–१ गोल अन्तरले पराजित गर्दै लगातार तेस्रो पटक उक्त उपाधि उचालेको हो । बार्सिलोनाको जितमा खेलको ३०औं मिनेटमा लियोनेल मेसीले गोलको खाता खोलेका थिए । तर उक्त अग्रता धेरैबेर भने टिक्न सकेन । खेलको ३३औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए ।

तर खेलको ४५औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा पाको अलासरले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रहृयो । दोस्रो हाफमा भने दुवै टोलीबाट गोल हुन सकेन र बार्सिलोनाले ३–१ को जितसँगै उपाधि आफ्नो पोल्टामा पारे । उक्त खेलपछि बार्सिलोनाले प्रशिक्षक इनरिकेको पनि सुखद विदाइ गरिएको छ । विगत तीन वर्ष बार्सिलोनाको प्रशिक्षक बनेका उनले डेब्यू सिजनमा नै बार्सिलोनालाई ला लिगा, कोपा डेल रे कप र च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्