कुल गार्हस्थ उत्पादन ६ दशमलब ९४ प्रतिशतले बढ्ने अनुमान



नेपाल समाचारपत्र
काठमाडौं
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आइतबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७३⁄७४ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएको छ। मुलुकको अर्थतन्त्रका विभिन्न पक्ष र नीति तथा कार्यक्रमको कार्यान्वयनबाट हासिल भएका उपलब्धिहरूको विश्लेषणात्मक समीक्षा गरी उक्त सर्वेक्षण प्रस्तुत गर्नु भएको हो।
सर्वेक्षणमा आर्थिक तथा सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेका कार्यक्रमलाई समेटी तिनले समग्र अर्थतन्त्रमा पार्ने प्रभाव र प्रवृत्तिको विश्लेषण गरिएको छ।

अनुकुल मौसम, सरकारको पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारलगायत समग्र आपूर्ति व्यवस्थामा सुधारसंँगै आर्थिक गतिविधिमा विस्तार भएको छ। फलस्वरूप चालू आर्थिक वर्षमा आधारभुत मुल्यमा कुल गार्हस्थ उत्पादन ६ दशमलब ९४ प्रतिशतले बढ्ने अनुमान छ।

चालू आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको उत्पादन क्रमशः ५ दशमलब २९ प्रतिशत र ७ दशमलब ७४ प्रतिशतले बढ्ने अनुमान छ। गैरकृषि क्षेत्रअन्तर्गत उद्योग क्षेत्रको योगदान १४ प्रतिशत रहेको छ भने सेवा क्षेत्रको योगदान ५६ प्रतिशत रहेको छ। गत आर्थिक वर्षमा यी क्षेत्रको उत्पादन क्रमशः शून्य दशमलब शून्य ३ प्रतिशत र शून्य दशमलब १६ प्रतिशत रहेको थियो। त्यस्तै सेवा र उद्योग क्षेत्रको उत्पादन क्रमशः ६ दशमलब ९० प्रतिशत र १० दशमलब ९७ प्रतिशतले बढ्ने अनुमान छ। कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रले २९ दशमलब ३७ प्रतिशत र गैरकृषि क्षेत्रको योगदान ७० दशमलब ६३ प्रतिशत रहने अनुमान छ।

आर्थिक विकासका लागि लगानी सम्मेलनमा सरकारले २ खर्ब १२ अर्ब १२ अर्ब रुपियाँ वैदेशिक सहयोग प्रतिबद्धता पाएको छ। त्यस्तै चालू आर्थिक वर्षको ८ महिनामा औसत उपभोक्ता मुद्रास्फीति दर ५ दशमलब १ प्रतिशत रहेको छ।

सार्वजनिक वित्त
गत आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनको अनुपातमा सरकारी खर्च २६ दशमलब ७ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०६८⁄६९ मा बजेटघाटा कुल गार्हस्थ उत्पादनको अनुपातमा शून्य दशमलब ५ प्रतिशत रहेकोमा त्यसपछिका वर्षमा बजेट निरन्तर बचतमा रहेको छ। संघीयतामा तीन तहका सरकारको संरचना व्यवस्थापनमा ठूलो स्रोतको आवश्यक पर्ने र पुनर्निर्माण तथा नवर्निर्माणका लागि पर्याप्त स्रोतको परिचालन गर्नुपर्ने हँुदा आगामी वर्षमा बजेटघाटा थप वृद्धि हुन सक्ने देखिन्छ। त्यस्तै कुल गार्हस्थ उत्पादनमा सरकारी खर्चको अनुपात विगत ५ वर्षमा औसत २३ दशमलब ४ प्रतिशत रहेको छ।

मूल्य
विगत आठ वर्षदेखि मुद्रास्फीति दर उच्च रहेकोमा चालू आर्थिक वर्षमा कमी आएको सर्वेक्षणमा उल्लेख छ। मुद्रास्फीतिमा गैर खाद्यभन्दा खाद्य मुद्रास्फीतिको योगदान उच्च रहेको छ। चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति दर ५ दशमलब १ प्रतिशत रहेकोछ। त्यस्तै चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत थोक मुद्रास्फीति १ प्रतिशत रहेको छ। थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सुचकांक शून्य दशमलब २ प्रतिशतले घटेको छ भने स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचांक ४ दशमलब २ प्रतिशत र आयातित वस्तुको मूल्य सूचांक ६ दशमलब २ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै वार्षिक विन्दुगत आधारमा फागुन महिनासम्ममा राष्ट्रिय तलब तथा ज्यालादर सूचांक १४ दशमलब १ प्रतिशतले बढेको छ। सरकारले सार्वजनिक सेवाका कर्मचारीको तलब वृद्धि गरेकाले तलबभत्ता तथा ज्यालादर सूचांकमा वृद्धि भएको हो।

मुद्रा तथा बैंकिङ
चालू आर्थिक वर्षको आठ महिना अवधिमा विस्तृत मुद्राप्रदाय ९ दशमलब ५ प्रतिशत र संकुचित मुद्राप्रदाय २ दशमलब २ प्रतिशतले बढेको छ। चालू आवको ८ महिनाको अवधिमा सञ्चित मुद्रा १२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको फागुनसम्मको तुलनामा चालु आवको सोही अवधिमा ९१ दिने ट्रेजरी विल तथा अन्तर बैंक कारोबारको भारित औसत ब्याजदरमा वृद्धि भएको छ। त्यस्तै चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८ दशमलब ३ प्रतिशतले बढेर १ खर्ब ६६ अर्ब ४९ करोड रुपियाँ पुगेको छ। यस अवधिमा वित्तीय संस्थाको कूल निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः ६ दशमलब ९ प्रतिशत, ३७ दशमलब ६ प्रतिशत र ३८ दशमलब ४ प्रतिशत रहेको छ।

पुँजी बजार तथा बीमा
चालू आवको ८ महिनामा धितोपत्रको प्राथमिक बजारमा सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाको संख्या र सार्वजनिक निष्काशन रकम दुवैमा अघिल्लो वर्ष सोही अवधिको तुलनामा वृद्धि भएको छ। सो अवधिमा प्राथमिक बजारमार्फत् ९ संस्थाले प्राथमिक निष्काशन ४० संस्थाले हकप्रद निष्काशन, ३ संस्थाले थप निष्काशन, ३ संस्थाले म्युचुअल फन्ड निष्काशन गरी कुल ५५ संगठित संस्थाबाट ३४ अर्ब ६७ करोड रुपियाँ बराबरको पुँजी परिचालन भएको छ। त्यस्तै धितोपत्र कारोबार रकममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ दशमलब ७६ प्रतिशतले वृद्धि भई १ खर्ब ३२ अर्ब रहेको छ।

प्रतिक्रिया दिनुहोस्