काठमाडौंको परिणाम सार्वजनिक



मेयर र उपमेयर
एमाले र कांग्रेसको कब्जामा
प्रशान्त वली

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य भारी मतान्तरले निर्वाचित हुनुभएको छ। उहाँका प्रमुख प्रतिस्पर्धी कांग्रेस उम्मेदवार राजुराज जोशीलाई उहाँले १९ हजार ६ सय ४४ मतले पछि पार्दै शाक्य काठमाडौं महानगपालिकाको मेयरमा निर्वाचित हुनुभएको हो। मेयरका एमाले उम्मेदवार शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी कांगे्रसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत प्राप्त गर्नुभयो।

आइतबार बिहान सकिएको मतगणनामा शाक्य काठमाडौंको मेयरमा निर्वाचित हुनुभएको हो। तेस्रो स्थानमा रहनुभएकी विवेकशील नेपाली दलका रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याउनुभयो। यस्तै, साझा पार्टीका किशोर थापाले १८ हजार २ सय ९६ मत प्राप्त गर्नुभयो। पाँचौं स्थानमा रहेका नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ तथा नयाँ शक्तिका पवित्रमान वज्राचार्यले ६ हजार ५० मत ल्याउनुभयो। यसै गरी मेयर पदकै उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कुलनारायण डंगोलले २ सय ६६, नेकपा क्रान्तिकारी माओवादीका गोर्किप्रसाद श्रेष्ठले १ सय ६४, मालेका उषाकुमारी टिवरेवालले १ सय ४९, राष्ट्रिय जनमोर्चाका निर्मल थापाले १ सय ३१, फोरम लोकतान्त्रिकका शिवहरि रिजालले १ सय १८ मत प्राप्त गर्नुभयो।

मेयर पदकै उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी संयुक्तका वच्पनराज श्रेष्ठले ६७, स्वतन्त्रतर्फका उम्मेदवारहरू अमोत महर्जनले ४३, दिनेश शाहीले ४२, लक्ष्मीप्रसाद भण्डारीले ३६, सुशीला बेघाले ३६ मत ल्याउनुभयो। मेयर पदकै उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका डवबहादुर गर्वुजा पुन मगरले ३५, स्वतन्त्रतर्फका नवराज पुनले २१, स्वतन्त्रतर्फकै भरतबहादुर बिसुरालले १९, चुरेभावर राष्ट्रिय एकता पार्टीका विदुरप्रसाद घिमिेले १४ मत ल्याउनुभएको छ। मेयर पदमै स्वतन्त्रतर्फका उम्मेदवारहरू नेत्रबहादुर लिम्बुले १५, अनिलमान श्रेष्ठ र ज्ञानुलामा तामाङले १३, पुरुषोत्तम दंगालले १०, सुरेन्द्रप्रसाद ढकालले ८, राधा बेल्बासेले ६, विनोदकुमार क्षत्री कसीले ५ र भगवान् गिरीले एक मत प्राप्त गर्नुभएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ।

उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी श्रेष्ठ निर्वाचित हुनुभएको छ। श्रेष्ठ ५८ हजार २ सय ५२ मत प्राप्त गरी विजयी हुनुभएको हो। उहाँका प्रतिद्वन्द्वी राप्रपाका राजुराम श्रेष्ठले ३४ हजार ७ सय ७४ मत ल्याउनुभयो। श्रेष्ठ २४ हजार बढी मत अन्तरले विजयी हुनुभएको हो। तेस्रो स्थानमा रहनुभएकी साझा पार्टीका निरूपमा यादवले ११ हजार ५ सय ३३ मत ल्याउनुभयो। यसै गरी नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार सुशीला पौडेलले १० हजार ४ सय ४८, नयाँ शक्ति–फोरम संयुक्तका सविना अर्यालले ३ हजार ७ सय ९३, राष्ट्रिय जनमोर्चाका रितु सापकोटाले ३ सय ६३, मजदुर किसान पार्टीका मनदेवी श्रेष्ठले ३ सय ३८, स्वतन्त्रतर्फका राधिका महर्जनले २ सय ४२ मत ल्याउनुभयो।

यसै गरी, उपमेयरकी उम्मेदवार फोरम लोकतान्त्रिकका लक्ष्मी राईले १ सय ७३, स्वतन्त्रका पुनम डंगोलले १ सय १९, स्वतन्त्र तर्फकी जेनिसा भट्टराईले ८१ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ। कुल १ लाख ९७ हजार २ सय २७ मत खसेकोमा १ लाख ९१ हजार ४१ मत सदर भएका छन्। करिब ६ हजार मत पूर्णरूपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्