वल्र्ड भिजनले बाँडेका बाख्रा मरे



सन्तोष अधिकारी, गोरखा
गोरखा भूकम्प गएको दुई वर्ष बितिसक्यो। भूकम्प गएलगत्तै आपत्कालीन तथा दीर्घकालीन सहयोगका लागि विभिन्न गैरसरकारी संस्थाहरू गोरखा भित्रिए। अहिले गोरखामा दीर्घकालीन सहयोगका लागि अनुमति पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू गोरखामा छन्।

विभिन्न संघसंस्थामध्ये गोरखामा धेरै गतिविधि सञ्चालन गर्ने वल्र्ड भिजन इन्टरनेसनल पनि एक हो। अहिले वल्र्ड भिजनले जिल्लाको अजिरकोट गाउँपालिकाको घ्याच्चोकमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरेको छ। बाख्रा बाँडेको हप्ता दिनमा नै मर्न थालेको भूकम्पपीडितले बताएका छन्। ‘वल्र्ड भिजनले जीविकोपार्जनमा सहयोग पुर्याउने भन्दै बाख्रा वितरण गर्यो’, घ्याच्चोकका वीरबहादुर गुरुङले भने– ‘बाँडेको केही दिनमा नै दुईवटा मरिसक्यो। गाउँमा १० वटाजति पनि साह्रै बिरामी छन्। बिरामी भएकाहरू पनि मरेका दुईवटाको जस्तै लक्षण देखाएको छ।’

जिल्ला दैवी प्रकोप उद्धार समिति, जिल्ला विकास समितिले यस्ता वितरणमुखी काम गर्न नपाउने गरी गैरसरकारी संस्थाहरूलाई बन्देज लगाएको बताउने गरे पनि उक्त संस्थाले अटेर गरी वितरणमुखी काम गरेको हो। वल्र्ड भिजन र गुड नेभर्स नेपालको साझेदारी तथा जिल्ला पशुसेवा कार्यालयको समन्वयमा गोरखाकै तल्लो क्षेत्रमा पालन गरिएका बाख्राहरू वितरण गरिएको मरेको स्थानीयको भनाइ छ। दुईवटा मरेकामध्ये वीरबहादुर र गोपाल गुरुङको घरमा पालिएका बाख्रा हुन्।

असल छिमेकी नेपालले वल्र्ड भिजनको सहयोगमा घ्याच्चोकमा मात्रै ८७ भूकम्पपीडितलाई प्रति घर तीनवटाको दरले बाख्रा वितरण गरेको हो। बाख्राहरू बक्राङको रोजिना बाख्रा फर्मबाट लगेर वितरण गरिएको बताइएको छ। गोरखामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले भूकम्पपीडितको मागभन्दा आफू अनुकूलका कार्यक्रमहरू बनाएर काम गर्ने गरेका छन्। वल्र्ड भिजन र असल छिमेकीले पनि भूकम्पपीडितको आवश्यकता नबुझी बाख्रा वितरण गरेका हुन्।

जिल्ला पशुसेवा कार्यालय गोरखासँगको समन्वयमा बाख्राको इन्सुरेन्स, ट्यागिङ गरेको बताए पनि किसानहरू पालेको बाख्राहरू धमाधम मर्न थालेपछि चिन्तित भएको वीरबहादुर बताउँछन्। सोही संस्थाहरूले जिल्लाका विभिन्न गाउँपालिकाका वडाहरूमा पनि बाख्रा वितरण गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्