आर्मीको जितबाट शुरुआत



च्यासलका मिङमा तेन्जिङ करिब १८ यार्डबाट फ्रिकिकमा गोल गर्दै

नेपाल समाचारपत्र
काठमाडौं
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले शनिबारदेखि शुरू भएको ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा जितबाट शुरुआत गरेको छ।

हिजो एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा आर्मीले सुदूरपश्चिम फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको हो। आर्मीका लागि पहिलो हाफमा १४औं मिनेटमा विश्वास उदासले गोल गर्दै अग्रता दिलाएका थिए। विश्वासले दुई खेलाडीलाई छलेर डिबक्स बाहिरबाट हानेको बल गोलमा परिणत भएको थियो।
पहिलो हाफमा १–० ले अग्रता लिएको आर्मीले दोस्रो हाफमा एक गोल थपेर जित पक्का गरेको थियो। दोर्जे तामाङले ६५औं मिनेटमा गोल गरेर अग्रता दोब्बर पारेका थिए।

जितपछि आर्मीका प्रशिक्षक चक्र तामाङले बताए– ‘हामीले खेल जित्यौं तर राम्रो गोल अन्तरले जित्न सकेनौं। मेरा खेलाडीहरूले धेरै अवसर गुमाएका थिए। उनीहरूले आफ्नो क्षमतअनुसार खेलेका थिएनन्।’

यसअघि भएको पहिलो खेलमा च्यासल युवा क्लबले रमपम झापा एघार फुटबल क्लबले १–१ बराबरी खेलेका थिए। पहिलो अग्रता झापाले लिएको थियो। दिशान्त राईले खेलको ३१औं मिनेटमा डी–बक्सको दायाँपट्टिबाट गरेको प्रहार च्यासलका गोलरक्षक अभिषेक बरालको हातमा लाग्दै माथिल्लो कर्नरबाट जाली छुन पुगेको थियो।

तर अन्तिम समयमा चार मिनेट थपिएकामा चौथो मिनेटमै झापा एक गोल बेहोर्दै जिल्लिएको थियो। च्यासलका मिङमा तेन्जिङले बक्स बाहिरबाट करिब १८ यार्डबाट फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। उनको प्रहार घुमेर गोलपोस्टको दायाँ कुनाको दिशा लिएपछि झापाका गोलकिपर बचाउन असमर्थ भएका थिए। सो गोलसँगै उनले च्यासललाई एक अंक दिलाएका थिए।

प्रतिक्रिया दिनुहोस्