भारतबाट विद्युत् आयात गर्ने सम्झौता नवीकरण



नेपाल समाचारपत्र
काठमाडौं
ढल्केबर–मुजफ्फपुर
अन्तर्देशीय प्रसारणलाइनबाट १६० मेगावाटसम्म बिजुली आयात गर्ने सम्झौता नवीकरण भएको छ। नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एमभीभीएन) बीच विद्युत् आयातको निरन्तरतका लागि म्याद थप गर्ने विषयमा शनिबार सम्झौता भएको हो।

सम्झौता नवीकरणपत्रमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमभीभीएनका प्रमु्ख कार्यकारी अधिकृत अरूण कुमार गर्गले हस्ताक्षर गरेका छन्। सम्झौता जुन १ तारिखदेखि अगष्ट ३१ तारिखसम्मका लागि लागू हुनेछ। साथै बिजुली खरिद दर पहिलाको कायम भएको छ। प्राधिकरणका अनुसार प्रतियुनिट भारु ३ रुपियाँ ६० पैसा अर्थात करिब ५ रुपियाँ ७६ पैसामा प्राधिकरणले एनभीभीभीएनबाट विद्युत् खरिद गर्ने छ। यसअघि गत मंसिरमा विद्युत् आयात गर्ने सम्झौता भएको थियो। सो सम्झौताको म्याद जेठ १७ गते सकिँदै छ। विजुली खरिद सम्झौता नवीकरण गर्न प्राधिकरणले वैशाख २१ मा भारतलाई पत्रचार गरेको थियो।

विद्युत् खरिद सम्झौता नवीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रवल अधिकारी शुक्रबार भारत गएका थिए। यसअघि मुज्जफपुर–ढल्केबर अन्तर्देशीय प्रसारणलाइनबाट १ सय ४५ मेगावाटसम्म आयात गरिएको थियो। हाल अहिले १ सय ३५ मेगावाटको हाराहारीमा आयात भइरहेको छ। प्राधिकरणले यस वर्ष ३९० मेगावाटसम्म बिजुली भारतबाट आयात गरेको थियो।

ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन २ सय केभीमा चार्ज नभएसम्म तीन महिनाका लागि लागू हुनेछ। भारतबाट आयात भइररहेको अन्य प्रसारणालाइनबाट आयात घटाएर यसमा बढाउन लागिएको हो। २ सय केभीको पूर्वाधार बनेपछि २ सय मेगावाटसम्म बिजुली आयात हुनेछ। प्राधिकरणले अन्तर्देशीय प्रसारणलाइन निर्माण गर्ने कम्पनी (पीटीसीएन र सीपीटीसी) लाई प्रसारण शुल्कवापत वार्षिक १ अर्ब रुपियाँ तिर्दै आएको छ। स्वदेशी आयोजनाबाटै विद्युत् आपूर्ति बढ्दै गएपछि भारतबाट आयात गरिएको विद्युत्को परिमाण कम गर्दै लगिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्