आमरण अनशन बस्न डा. केसी रात्री बस चढे



आजदेखि दाङमा अनशन

नेपाल समाचारपत्र,काठमाडौं
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसी ११औं पटकको आमरण अनशन शनिबार मध्याह्नदेखि दाङको घोराइमा बस्ने हुनुभएको छ।

प्राडा केसी भन्नुहुन्छ– ‘८० प्रतिशत जनता ग्रामीण भेगमा बसोबास गर्छन् तर काठमाडौंलगायत ठूला शहरमा मात्र मेडिकल कलेज र अस्पतालहरू खुलेका छन्। २०७१ सालमै दाङमा सरकारी मेडिकल कलेज खोल्ने सम्झौता सरकारले गरिसकेको भए पनि हालसम्म कार्यान्वयनका लागि आवश्यक कानुनसमेत बनाउनेतर्फ नलागेकै कारण विगतको सम्झौता कार्यान्वयन गराउन आफूले पुनः दाङका जनताको साथमा आमरण अनशन बस्ने निर्णय गरेको हुँ।’

‘पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा कालो धन सेतो बनाउने प्रयासमा लागेका छन्।’

डा. केसीले देशका ठूला दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूलाई कडा शब्दमा आलोचना गर्दै भन्नुभयो– ‘पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवा कालो धन सेतो बनाउने प्रयासमा लागेका छन्। यिनीहरू जनताका लागि भन्दा निजी कलेज खोलेर त्यसकै विकास र नाफाको उद्देश्य लिएर आफ्नै स्वार्थका लागि लागे।’

‘दाङ नेपाली जनताको जनस्वास्थ्यका लागि निकै उपयोगी केन्द्र भएकै कारण हामीले विगतका अनशनमा यिनै कुराका उठान गरेका हौं। यस क्षेत्रका ७÷८ जिल्लाका जनता उपचारका लागि वर्षेनि छिमेकी मुलुक भारत जान बाध्य छन्।

सरकारी मेडिकल कलेज नभएकै कारण यस क्षेत्रका जेहेनदार विद्यार्थीहरू चिकित्सा शिक्षाका लागि विदेश जान बाध्य छन्। नेपाली जनताको भावना र मर्मको सम्मानका लागि यस क्षेत्रमा सरकारी मेडिकल खोले विद्यार्थी बाहिरिनु पनि पर्दैन र यस क्षेत्रको विकास पनि छिट्टै हुन्थ्यो, तर सरकारबाट यो कार्यको लागि कोसिस नै भएन।’ –डा. केसी भन्नुहुन्छ।

‘दाङमा खुमबहादुर खड्कादेखि कृष्णबहादुर महराजस्ता चर्चित नेताहरूले भोट माग्ने र जित्ने गरेका छन् तर, उनीहरू आफ्नै फाइदाका लागि लागिपरे। त्यसैले यतिबेला तपार्इंहरूको साथमा छु भनेर जनतालाई साथ दिन म त्यही ठाउँबाट ११औं पटकको अनशन शुरु गर्न गइरहेको छु।’ –डा. केसी भन्नुहुन्छ।

१०औं पटकसम्मको अनशन त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा बस्दै आउनुभएका डा. केसीले एकाएक अनशनस्थल परिवर्तन गरी शनिबारदेखि बस्ने भनिएको अनशनका लागि शुक्रबार बेलुकै दाङका लागि पब्लिक बसमा काठमाडौंबाट साँझ ६ बजे जाँदै गरेको डा. केसीले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो।

डा. केसीले आफूसँग विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन हुनुपर्ने र सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने माग अघि सार्दै आउनुभएको छ। ४ दिनअगाडि नै ११औं अनशन शुरू गर्ने अल्टिमेटम सरकारलाई दिनुभएका डा. केसीले सरकारको धारणा केही आउँछ कि भनेर पर्खिंदा समेत सरकारले बेवास्ता गरेकै कारण जनताको साथ लिएर आफू पुनः सत्याग्रहमा होमिन लागेको बताउनुभयो।

विगतमा डा. केसी अस्पताल परिसरमा आमरण अनशन बस्दा बिरामीमा नकारात्मक प्रभाव पर्यो र बलजफती भयो, जनताको हितका लागि अनसन बसेका डाक्टरले नै जनताको स्वास्थ्य उपचारमा बाधा पुर्याए, बिरामीलाई धेरै मर्का पर्यो जस्ता अभिव्यक्ति आउँनुका साथै पटकपटक सरकारका तर्फबाट धरपकड हुने र उहाँकै स्वास्थ्यमा नकारात्मक असर पर्दा समेत उपचारका लागि स्वास्थ्यकर्मी नखटाइएको विषयमा आलोचना हुँदै आएको थियो।

यिनै विविध कारणले गर्दा डा. केसीले यसपटकको अनशन दाङको सार्वजनिक ठाउँमा बस्ने निर्णयमा पुग्नुभएको उहाँका सहयोगी डा. सुमन आचार्यले जानकारी गराउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्