मरेको सुगाले ब्रेसवेललाई सजाय



वेलिंग्टन, (एजेन्सी)
कुनै व्यक्तिले आफ्नै गल्तीले सजाय भोग्नु मनासिब हो। तर सुगाको कारण कसैले सजाय बेहोर्नु पर्दा अचम्म लाग्न सक्छ।

वास्तवमा न्युजिल्यान्डका एक क्रिकेटरले सुगाको कारण १५ महिना सजाय भोग्नुपरेको छ। यी खेलाडी हुन् न्युजिल्यान्डका फास्ट बलर डग ब्रेसवेल। मद्यपान गरेको अवस्थामा गाडी चलाएका कारण उनलाई सजाय तोकिएको हो। यसै कारण उनको एक वर्ष सवारी अनुमति पत्र रद्द गर्नुका साथै १ सय दिन सामुदायिक सेवा गर्न सजाय दिइएको छ। जुन करिब ४ सय ६५ दिन हुन्छ।

ब्रेसवेललाई किन यस्तो सजाय तोकियो भन्ने प्रसंग अलि रोचक छ। वास्तवमा कीवीका यी बलरको घरमा पालेको सुगालाई कुकुरले मारेको थियो। यो खबर उनको कानमा पर्नासाथ नशामा रहेको ब्रेसवेलले तीव्र गतिमा गाडी हुंक्याएपछि उनी कारबाहीमा परे। मद्यपान गरी तीव्र गतिमा गाडी हुंक्याएका कारण उनी कारबाहीमा परेको यो पहिलो घटना भने होइन।

यसअघि सन् २००८ र २०१० मा उनी कारबाहीमा परेका थिए। तेस्रो पटक पनि पुरानै गल्ती दोहोर्याएका कारणले गर्दा उनको सवारी अनुमति एक वर्षका लागि रद्द गरिएको हो।
न्युजिल्यान्ड क्रिकेट संघले भने यसपटक ब्रेसवेलमाथि प्रतिबन्ध नगर्ने बताएका छन्। यसअघि खुट्टाको चोटका कारण आगामी सिजनसम्मका लागि ब्रेसवेल टिमबाट बाहिर नै छन्। यसअघि ब्रेसवेल र किवी टिमका पूर्वब्याट्सम्यान जेसी रोयडरलाई सन् २०१२ र २०१४ मा मद्यपान गरी गाडी चलाएको दोषी ठहरिँदा समान एक–एक म्याच प्रतिबन्ध लागेको थियो।
यता ब्रेसवेलले भने आफ्नो गल्ती स्वीकारेका छन्। उनले एक कार्यक्रमका दौरान मद्यपान गरेको बताए। उनले आफूमाथि तोकिएको सजाय पनि स्विकारेका छन्। उनले न्युजिल्यान्डका तर्फबाट २७ टेस्ट म्याच खेलेका छन्। पछिल्लो पटक गत अगस्तमा दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टेस्टमा उनी न्युजिल्यान्ड टिममा सम्मिलित थिए।

प्रतिक्रिया दिनुहोस्