चिनियाँ लगानी विस्तार गर्न जोड



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल–चीन गैरसरकारी सहयोग मञ्चको १४औं बैठक काठमाडौंमा शुरू भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघद्वारा संयुक्त रूपमा आयोजना गरिएको बैठकको उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बिहीबार काठमाडौंमा उद्घाटन गर्नुभयो। उक्त बैठकमा भाग लिन अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् मञ्चका सहअध्यक्षको नेतृत्वमा करिब ४० जना चिनियाँ उद्यमी व्यवसायीहरू नेपालमा आएका छन्।

बैठकलाई सम्बोधन गर्नु हुँंदै उपप्रधानमन्त्री महराले दुवै देशका सरकारबाट आपसी आर्थिक व्यावसायिक सम्बन्ध, सहयोग विस्तार, संयुक्त लगानी, सांस्कृतिक प्रवद्र्धन एवम् आपसी हितका विषयमा सहकार्यलाई मजवुद बनाउने उद्देश्यले स्थापना गरिएको मञ्च दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रभावकारी रूपमा अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभयो।

महराले सन् १९९६ मा स्थापना भएको मञ्च, आर्थिक, व्यापारिक, लगानी, पर्यटन तथा जनस्तरमा सम्बन्ध स्थापनामा कोशेढुंगा सावित भएको बताउनुभयो। चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिबाट लाभ उठाउन नेपाल लालयित रहेको बताउनु हुँंदै नेपालमा बढीभन्दा बढी लगानी बढाउन चिनियाँ निजी क्षेत्रलाई आग्रह गर्नुभयो। उहाँले सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको समेत विश्वास दिलाउनुभयो। अर्थमन्त्रीले आर्थिक विकासका एजेन्डामा कार्य गर्न नेपाल–चीन गैरसरकारी सहयोग मञ्च जस्ता फोरमको अधिकतम् उपयोग हुनुपर्नेमा समेत जोड दिनुभयो। चीनले अगाडी सारेको एक क्षेत्र एक रोड अवधारणाको नेपाल महत्त्वपूर्ण हिस्सेदार हुन पाएकोमा खुशी व्यक्त गर्नु हुँदै महराले नेपालले ओवोरबाट आर्थिक रूपमा निकै ठूलो फाइदा उठाउन सक्ने बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् मञ्चका सहअध्यक्ष भवानी राणाले स्थापनाको उद्देश्य हासिल गर्न मञ्च निकै सफल भएको बताउनुभयो। अध्यक्ष राणाले नेपाललाई यतिखेर निकै ठूलो लगानीको खाँचो रहेकाले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले नेपालमा रहेको हालको चिनियाँ लगानी निकै ठूलो मात्रामा विस्तार गर्न आवश्यक रहेको समेत औंल्याउनुभयो। यसका लागि पहल गर्न एसीएफआइसीलाई आग्रह समेत गर्नुभयो।

ओवोरमा हस्ताक्षरपश्चात नेपाल र चीनबीच अझ बढी सहकार्यका बाटो खुल्ने विश्वास व्यक्त गर्नुहुँदै अध्यक्ष राणाले सार्वजनिक–निजी साझेदारीको अवधारणाअन्तर्गत पूर्वाधार निर्माण, जलविद्युत्, उत्पादनमुलक क्षेत्र, पर्यटन, सडक सञ्जाल लगायतका क्षेत्रमा निकै धेरै काम गर्न सकिने स्पष्ट पार्नु भयो।

चीनले अगाडि सारेको ओवोरको अवधारणाबाट ६० भन्दा बढी देशलाई एकै सञ्जालमा जोडी त्यसबाट ती देशबीचको आर्थिक व्यावसायिक पर्यटनलगायतका क्षेत्रको विकासमा सहयोग पुग्न गई जनतासमेत लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो। उहाँले नेपाल पनि चीनले अगाडि सारेको यो अवधारणाको एक महत्त्वपूर्ण हिस्सा हुन पाएकोमा यसबाट लाभ उठाउनुपर्नेमा जोड दिनुभयो।
नेपालका लागि चिनियाँ राजदुत यू होले नेपालको विकास प्रयासमा एक महत्त्वपूर्ण साझेदारको रूपमा काम गर्न पाउँदा आफ्नो देश निकै खुशी रहेको बताउनुभयो। राजदूत होङले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूको नेतृत्वमा रहेको नेपाल–चीन गैरसरकारी सहयोग मञ्चले स्थापनाको यस बीचमा प्राप्त गरेको उपलब्धि उत्साहजनक रहेको भन्दै आगामी दिनमा अझ बढी क्षेत्रमा सहकार्यका माध्यमबाट दुवै देशका जनता लाभान्वित हुनेतर्फ सफलता मिलोस् भन्ने कामनासमेत गर्नुभयो। उहाँले नेपाल नयाँ संविधानको कार्यान्वयनतर्फ अगाडि बढेकोमा खुशी प्रकट गर्नु हुंँदै लगानीको वातावरण, नीतिगत स्थिरता, प्रक्रियागत सरलता तथा विद्यमान कमजोर पूर्वाधारमा सुधारको खाँचो औल्याउनु हुंँदै नेपालको हरेक विकास प्रयासमा चीनले सदैव सहयोग गरिरहने विश्वास दिलाउनुभयो।

त्यस्तै एसीएफआईसीका उपाध्यक्ष एवम् मञ्चका सहअध्यक्ष सिए चिनरोङले मञ्चका माध्यमबाट हुने मेहनतद्वारा चीन र नेपालको आर्थिक सहकार्यमा थप व्यापकता आउने विश्वास प्रकट गर्नुभयो।

उपाध्यक्ष सिए चिनरोङले अगाडि भन्नुभयो–‘नेपाल दक्षिण एसियाको एउटा महत्त्वपूर्ण राष्ट्र हो। चीनले, नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई अत्यन्त ठूलो महत्त्वका साथ लिएको बताउनु हुंँदै ओवोर अवधारणाको निर्माण तथा कार्यान्वयनमा चीनले नेपाललाई पनि एउटा महत्त्वपूर्ण साझेदारको रूपमा लिन चाहेको समेत बताउनु भयो।
चीनको ओवोर अवधारणा तथा १३औं पञ्च वर्षे आयोजना र नेपालको राष्ट्रिय पुनर्निर्माण तथा विकास योजनाबीच समन्वय कायम भई दुई देशबीच परापूर्व कालदेखि स्थापित आर्थिक तथा सामाजिक आदानप्रदानलाई थप नयाँ उचाईमा पुर्याउने आफ्नो चाहना रहेको बताउनु हुंँदै उपाध्यक्ष सिएले एसीएफआइसी र एफएनसीसीआई बीचको सम्बन्धलाई थप मजबुत बनाई अझ व्यापक र बृहत्तर क्षेत्रमा व्यवहारिक सहकार्यमा जोड दिनुभयो। चीन दुवै देशबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप प्रवद्र्धन र विकास गर्न तत्पर रहेको समेत उहांले स्पष्ट पार्नुभयो।

तीनवटा सत्रमा सञ्चालित प्राविधिक सत्रको पहिलो सत्रमा जल ऊर्जासहितको नवीकरणीय ऊर्जा विषयमा छलफल भएको थियो। उक्त सत्रको सभापतित्व महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गर्नुभएको थियो भने चाइना न्यू चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् रेडियन्ट होल्डिङ कम्पनीका अध्यक्ष सु बाओले ऊर्जा विकासमा आफ्नो देशको धारणा राख्नु भएको थियो।

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सो अवसरमा नेपालमा नवीकरणीय ऊर्जा एवम् जल ऊर्जामा लगानीको सम्भाव्यता एवम् हाल रहेको चिनियाँ लगानीका बारेमा स्पष्ट पार्नु भएको थियो। उहाँले नेपालमा जलविद्युत्मा लगानीको निकै ठूलो सम्भाव्यता रहेको र यहाँ उत्पादित बिजुली भारत लगायत अन्य मुलुकमा समेत निर्यातको पर्याप्त सम्भावना रहेकाले चिनियाँ लगानीकर्तालाई लगानीका लागि आग्रह गर्नुभयो। प्रधानले चीन, भारत, भुटान, बंगलादेश र नेपाल बीच सम्पन्न तीन वर्षे पीटीए सम्झौताले नेपालीलाई उत्साहित बनाएको बताउनु हुँंदै विदेशीलाई लगानीका लागि विशेष गरेर माथिल्लो कर्णाली, अरूण, सुपर मस्र्याङ्दी, बूढीगण्डकीलगायतका थुप्रै आयोजना प्रभावकारी हुने विश्वास दिलाउनुभयो।

दोस्रो सत्रमा हार्डवेयर तथा भवन निर्माण सम्बन्धी सामग्री विषयमा छलफल भएको थियो। उक्त सत्रको सभापतित्व महासंघको शहरी विकास समितिका सभापति ओम राजभण्डारीले गर्नु भएको थियो भने चाइनाको डैइजु डिष्ट्रिकको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ल्यू हयूलिनले उक्त विषयमा दुवै देशबीच हुन सक्ने सहकार्यका विषयमा धारणा राख्नु भएको थियो। सो सत्रमा सभापति राजभण्डारीले भूकम्पपश्चात नेपालमा भौतिक संरचना पुनर्निर्माण एवं नवनिर्माणको कार्य धेरै भएका र अझै निर्माणाधीन रहेकाले हाईवेयर एवम्् भवन निर्माण सामग्रीको माग अधिक रहेको जानकारी गराउनुभयो।

त्यसैगरी तेस्रो सत्रमा पर्यटनका विषयमा छलफल भयो। उक्त सत्रको सभापतित्व महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नु भएको थियो भने महासंघको पर्यटन समितिका सभापति ज्योत्सना श्रेष्ठले नेपालमा चिनियाँ संयुक्त लगानीमा पर्यटनका सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। चिनियाँ पक्षबाट चाइना टुरिजम काउन्सिलका उपाध्यक्ष हाओ चुकानले उक्त विषयमा दुवै देशबीच हुन सक्ने सहकार्यका विषयमा धारणा राख्नु भएको थियो। सो अवसरमा महासंघका तर्फबाट नेपालको पर्यटनका मुख्य आकर्षणहरू वर्ड वाचिङ,र्याफ्टिङ, बन्जी जम्पिङ, जंगल सफारी, माउनटेन फ्लाइट, प्याराग्लाइडिङलगायतका विभिन्न आकर्षणका बारेमा जानकारी गराउनुहुंदै नेपालमा पर्यटन सम्बन्धी अवस्थीत वाइल्ड लाइफ टुरिसम, माउन्टेन टुरिजम, हेरिटेज टुरिजम, कल्चरल टुरिजम, एडभेन्चर टुरिजम जस्ता विभिन्न क्षेत्रमा चिनियाँ लगानीको लागि आग्रह गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्