प्रधानमन्त्री ठीकै रहेछन्



बुधबार राजीनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिला साह्रै सन्काहा मान्छे जस्तो लाग्दथ्यो तर उहाँले राजीनामा दिनुअघि दिएको मन्तव्यले चाहिँ प्रभावित बनाएको छ। उहाँ अब भने सज्जन भए जस्तो लाग्यो। उहाँको भावी दिनको सफलताको कामना गर्दछु।

रामहरि शिवाकोटी, मैतीदेवी

लोडसेडिङ हटाउनु ठूलो काम

अरू कुरा त्यस्तै हुन् तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यकालमा लोडसेडिङबाट मुक्ति पाउनु चाहिँ निकै ठूलो कुरा हो। नत्र घण्टौं अँध्यारोमा बस्दा हैरान भइएको थियो। अबका दिनमा फेरि त्यस्तो अँध्यारो हालत मुलुकले व्यहोर्न नपरोस्।
कृष्ण पौडेल, कलंकी

देउवा सुध्रिऊन्

नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवाको चर्चा भइरहेको छ। विगतमा पटकपटक प्रधानमन्त्री भइसक्नुभएका देउवाले पहिला मुलुकमा निकै नराम्रो विकृति भित्त्याउनुभएको सबैमा जगजाहेर नै छ। अहिले फेरि उहाँ प्रधानमन्त्री बन्न लाग्नुभएकाले सबैलाई आशंका उत्पन्न भइरहेको छ। तर, देउवाले आफूमाथि लाग्दै आएका आरोपहरू खण्डन गर्नका लागि उहाँलाई अब अन्तिम अवसर प्राप्त हुने छाँट देखिएको छ। उहाँको कार्यकाललाई सबै नेपालीले मन पराएको देख्न पाइयोस्। हप्ता वा दश दिनपछि नै जनता आन्दोलनमा उत्रनुपर्ने अवस्था सिर्जना नगरियोस्।

विश्वेश्वर यादव, जनकपुरधाम (हाल काठमाडौं)

औषधी लिमिटेडको पुनर्जीवन

हाम्रो देशको प्रमुख समस्या बन्दै गएको बेरोजगारी समस्यालाई हटाउने प्रमुख माध्यम भनेकै उद्योग स्थापना गर्नु हो। उद्योगबाटै बेरोजगारीलाई रोजगारी दिलाउन सकिन्छ। सरकारले बन्द उद्योगहरू खुलाउने प्रतिबद्धता जनाएअनुरूप नेपाल औषधी लिमिटेड खुलाएको छ जुन सकारात्मक पक्ष हो। निजी उद्योग र विदेशबाट आयातित औषधी चर्को मूल्यमा उपभोग गर्न बाध्य नागरिकलाई नेपाल औषधी लिमिटेडद्वारा उत्पादित औषधीले केही मात्रामा भने पनि राहत प्रदान गर्ने छ। बन्द उद्योग खुलेपछि औषधी लिमिटेडबाट पहिलो चरणमा जीवनजल उत्पादन गरेको छ। जुन बजार मूल्यका अन्य जीवन जलभन्दा प्रति प्याकेट दुई रुपियाँ सस्तोसमेत रहेको छ। त्यसै गरी तीन महिनाभित्रमा अन्य औषधी उत्पादन गर्ने लक्ष्य राखिएको छ।

विसं २०२९ सालमा स्थापना भएको औषधी लिमिटेड विसं २०२९ सालमा स्थापना भएको औषधी लिमिटेड विसं २०६६ सालदेखि विविध कारणले बन्द भएको थियो। नेपालमा उद्योगहरू पर्याप्त मात्रामा स्थापना भएर राम्रो नाफामा सञ्चालनमा पनि आएका थिए। सरकारबाट छयालीस सालको पहिलो जनआन्दोलनपश्चात् उदार अर्थतन्त्र अवलम्बन गरी उद्योगहरूलाई निजीकरण गरियो त्यसपछि उद्योगहरू धराशयी बन्दै गए। प्रभावकारी व्यवस्थापनको अभाव, कर्मचारीमा व्यावसायिकताको अभाव, उत्पादनले राम्रो बजार पाउन नसक्नु जस्ता विविध कारणले गर्दा धेरै उद्योगहरू बन्द हुन पुगे।

नेपाल सरकारको स्वामित्वमा रहेका दर्जनौं उद्योगहरू बन्द भएपश्चात् हजारौं कर्मचारीको रोजीरोटी गुम्यो। देशमा उसै त शिक्षित र अर्धशिक्षित बेरोजगारी दिनानुदिन बढ्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार वर्षेनी चारदेखि पाँच लाखसम्म जनशक्ति श्रम बजारमा देखिन्छन्। तीमध्ये सरकारी गैरसरकारीलगायतका विभिन्न संस्थामा मुस्किलले एक लाख जनशक्तिले रोजगारी प्राप्त गर्छन्। बाँकी तीन⁄चार लाख जनशक्ति आफ्नो घरखेत बन्धकी राखेरै भए पनि विदेशिन बाध्य छन्। देशमा रोजगारी नपाएकै कारण दैनिक सत्र सय युवा जनशक्ति विदेशिने गरेको तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारी पनि भरपर्दो र सुरक्षित नहुँदा कामदारले अनेकौं समस्याको सामना गर्न बाध्य छन्।

सरकारले स्वास्थ्य सेवामा सर्वसुलभता ल्याउने प्रयास गरेको सन्दर्भमा नेपाल औषधी लिमिटेडले जीवन पाउनु सकारात्मक कार्यको थालनी मानिएको छ। सरकारले विभिन्न जटिल रोगहरूको निःशुल्क उपचार तथा सहुलियत शुल्कमा उपचार गर्ने घोषणालाई कार्यान्वयन गर्न पनि सरकारी स्वामित्वकै औषधी उत्पादन हुनु जरुरी हुन्छ। बजारमा कालोबजारी तथा महँगो मूल्यमा आयातित औषधीले नेपाली उपभोक्ता निकै ठगिएका छन्। पछिल्ला समयमा औषधीको मूल्यमा केही सरलता पनि आएको छ। सरकारी अनुगमन प्रभावकारी बन्दै गर्दा आम औषधी उपभोक्तालाई केही राहत मिलेको अनुभूति सर्वत्र गरिएको छ।

हाम्रो देशमा कृषिजन्य पदार्थको प्रयोग हुने उद्योगहरू दीर्घकालीन हुने भए पनि त्यस्ता उद्योगहरू स्थापना भएको देखिँदैन। जनकपुर चुरोट कारखाना वीरगन्ज चिनी उद्योग, गोरखकाली टायर उद्योग कृषिजन्य कच्चा पदार्थबाट सञ्चालन हुने हुन् तर ती तीनवटै उद्योगहरू लामो समयदेखि बन्द रहेका छन्। त्यस्तै नेपालको नाफामूलक उद्योग भृकुटी कागज कारखाना पनि दुई दशक अगाडिदेखि बन्द छ। जसले नेपालको मागलाई पूरा गरी भारतमा समेत कागज निर्यात गरेको थियो। हाल सरकारी स्वामित्वमा रहेका अन्य उत्पादनमूलक उद्योग उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट मात्र सञ्चालनमा रहेका छन्।

बन्द भएका उद्योग सञ्चालनमा ल्याउन सकिएमा रोजगारी वृद्धि हुने थियो भने आयातमा समेत कमी आउने निश्चित छ। वर्तमान उद्योगमन्त्रीले हेटौंडा कपडा कारखाना पुनः सञ्चालन गरी त्यहाँबाट उत्पादित कपडाहरू राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरी र शिक्षकलगायतले कार्यालयको पोसाकमा उपयोग गर्न सकिए उद्योग सहज रूपले सञ्चालन हुने बताएका थिए। जुन कुरा सही पनि हो। आफ्नो देशमा निर्मित कपडाको प्रयोगले आफ्नै उद्योग नाफामा चल्ने र अर्बौ खर्चेर विदेशबाट आयात गर्नुपर्ने समस्याबाट पनि मुक्ति मिल्ने देखिन्छ।

त्यसै गरी गोरखकाली रबर उद्योग पनि सञ्चालनमा ल्याएर त्यहाँबाट उत्पादित टायर लाखौंको संख्यामा नेपालमा गुड्ने सवारीका साधनमा प्रयोग गर्दा स्वतः उद्योग नाफामा जाने देखिन्छ। अब रह्यो उद्योग पुनः सञ्चालन गरी कसरी नाफामा सञ्चालन गराउने ? जसका लागि चुस्त व्यवस्थापकीय प्रशासन, इमान्दार जनशक्ति, राजनीतिक स्थिरता र बजारको राम्रो प्रबन्धलाई ध्यान दिनु जरुरी छ। राज्यले महत्त्वपूर्ण उद्योगलाई पुनः सञ्चालनमा जोड दिई बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न र आयात घटाउनेतर्फ जोड दिनुपर्ने देखिन्छ।
सुदर्शन अधिकारी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्