नवनिर्वाचित गोरखाका मेयरको महत्त्वाकांक्षी योजना



सन्तोष अधिकारी, गोरखा
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित गोरखा नगरपालिकामा मेयरले महत्त्वाकांक्षी योजनाहरू अघि सारेका छन्। गोरखा नगरको पर्यटन प्रवद्र्धन र गोरखकाली रबर उद्योग सञ्चालनदेखि विभिन्न योजनालाई आफ्नो उद्देश्यमा राखेर काम गर्न लागेको नयाँ मेयर राजनराज पन्तले बताए।

‘दुई वर्षदेखि गोरखकाली रबर उद्योग बन्द छ’, उनले भने– ‘सरकारको यत्तिको सम्पत्ति त्यसै खेर गइरहेको छ। त्यसलाई म जसरी पनि सञ्चालनमा ल्याउनेछु। अबको एक हप्तामा विशेष योजना बनाई छलफल शुरू गर्न आन्तरिक तयारीसमेत थालिसकेको छु। मेरो पहुँच र क्षमताले भ्याउने कुनै पनि कसुर बाँकी नराखी रबर उद्योग सञ्चालनमा ल्याउनेछु।’ पन्तले हाल गोरखा नगरपालिकाको सबै वडामा कच्ची सडक सञ्जाल विस्तार भएको र आफ्नो कार्यकालको पाँच वर्षभित्र सबै क्षेत्रमा पक्की सडक निर्माणका लागि आफू लागि पर्ने समेत बताएका छन्। उनले छिट्टै नै नेपालमा गुड्ने सवारीहरूले गोरखकाली रबर उद्योगमा उत्पादन भएका टायरबाट गुडाउने आफ्नो उद्देश्य रहेको समेत बताए। उद्योग सञ्चालन गर्न त्यससँग सम्बद्ध सबै निकायमा आफूले पहलकदमी चाल्ने उनको भनाइ छ।

त्यस्तै गोरखा नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्न गोरखकाली दरबार, गोरखा संग्रहालय, पश्चिमकाली, चिल्डे«न पार्क, देउरालीको बूढकोटलगायत गोरखा नगरपालिकाभित्र भएका पर्यटनको सम्भावनायुक्त अन्य ठाउँको पनि अध्ययन गरी काम अघि बढाउने उनले बताए।

हाल गोरखकाली रबर उद्योग बन्द हुनुको प्रमुख कारण नै उद्योगभित्र राजनीतिक खिचातानी नै प्रमुख मानिन्छ। त्यस्तै कमजोर व्यवस्थापन र पुँजीको अभावलगायतका कारणले उद्योग बन्द भएको हो। हाल उद्योगका कर्मचारीहरू बिहान र साँझ हाजिर लगाउन मात्र उद्योग आउने गरेका छन्।

‘नेपाल सरकारले सहयोग गरे बाहिरी देशबाट पनि लगानी भित्त्याउन सकिन्छ’, उनी भन्छन्– ‘नगरपालिकाको निगरानी वा निजी क्षेत्रलाई यो उद्योग सञ्चालनका लागि दिन सकिन्छ। गोरखा नगरको आन्तरिक आय बढाउन यसको राजस्वले पनि धेरै हिस्सा ओगट्ने मैले देखेको छु।’ गोरखकाली रबर उद्योगका तीन सयभन्दा बढी कर्मचारी अहिले बेकामे छन्। नेपाल कारखाना श्रमिक संघका अध्यक्ष ईश्वर परियारले मजदुर कर्मचारीले डेढ वर्ष यता नपाएको गुनासो गरे। कर्मचारीको तलबमा मात्र साढे १० करोड रुपियाँ भुक्तानी हुन बाँकी रहेको उद्योग प्रशासन बताउँछ।

प्रतिक्रिया दिनुहोस्