दोस्रो खेलमा नेपाल पराजित



नेपाल समाचारपत्र
काठमाडौं
आगामी साफ च्याम्पियनसिपका लागि तयारीमा लागेको नेपाली महिला राष्ट्रिय टोलीले मलेसियाविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेलमा पराजय बेहोरेको छ।
बुधबार मलेसियामा भएको उक्त खेलमा नेपाल ४–१ गोलअन्तरले पराजित भएको हो। नेपालले खेलको शुरूआती समयमै फितलो प्रदर्शन गरेपछि गोल बेहोर्नुपरेको थियो। खेलको दोस्रो मिनटमै मलेसियाका लागि सेराइलिन एली पियुसले पहिलो गोल गरेका थिए। यस्तै खेलको ४२औं मिनेटमा नुराथिरहले गोल गरेपछि पहिलो हाफसम्म मलेसियाले २–० ले अग्रता लिएको थियो।

यसै गरी खेलको ५४औं मिनेटमा सेराइलिनले व्यक्तिगत दोस्रो गोल गर्दै मलेसियालाई ३–० को अग्रता दिलाएकी थिइन्। खेलको ८२औं मिनेटमा सजना रानाले गोल गर्दै नेपालको गोलअन्तर कम गर्ने प्रयास गरिन्। तर त्यसको पाँच मिनेट नबित्दै नोरालिसाले गोल गरेकी थिइन्। दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण भ्रमणमा रहेको नेपालले पहिलो खेलमा घरेलु टोलीलाई १–१ गोलको बराबरीमा रोकेको थियो।

प्रतिक्रिया दिनुहोस्