म्यानचेस्टर बमकाण्डमा थप तीन पक्राउ



बीस जना घाइतेको स्थिति चिन्ताजनक

लन्डन, (एजेन्सी)
बेलायतको म्यान्चेस्टरस्थित रंगशालामा कन्सर्टको दौरान भएको आत्मघाती बम आक्रमणमा सलमान आवेदी नामक युवकबाहेक अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने अनुसन्धान अघि बढाउने क्रममा बुधबार प्रहरीले थप तीन जना पुरुषलाई पक्राउ गरेको छ।

मंगलबार प्रहरीले २३ वर्षीय आवेदीको भाइलाई गिरफ्तार गरेको थियो। सोमबार राति आवेदीले अमेरिकी गायिका एरियाना ग्रान्डको कन्सर्टको बाहिर आत्मघाती बम विस्फोट गराउँदा २२ जना व्यक्तिको ज्यान जानुका साथै अन्य ६४ जना घाइते भएका थिए।

अहिले संयुक्त अधिराज्यको आतंकको स्तर अत्यन्तै उच्च अर्थात् नाजुक अवस्थामा पुगेकाले थप डरलाग्दा आक्रमणहरू हुनसक्ने सम्भावना रहेको सुरक्षा सूत्रले दाबी गरेको छ। त्यसैले बेलायतका निकै संवेदनशील प्रमुख स्थानहरूमा अहिले सेना तैनाथ गरिँदै छ।

प्रहरीकै सल्लाहअनुसार प्यालेस अफ वेस्टमिनिस्टर सर्वसाधारणका लागि अर्को सूचना जारी नगरिउन्जेल प्रवेश निष्ोध गरिएको छ। त्यसै गरी बुधबार बकिंघम प्यालेसमा थप प्रहरी बल तैनाथ गर्नका लागि चेन्जिङ गार्ड कार्यक्रम रद्द गरिएको रक्षा मन्त्रालयले जनाएको छ।

बेलयाती गृहमन्त्री अम्बर रुडले भनेका छन्– ‘विगतका भन्दा यस पछिल्लो आक्रमण थप सुनियोजित देखिएकाले यस घटनामा ती आक्रमणकारी एक्लैको मात्र हात हुन नसक्ने देखिएको छ।’ घाइतेहरूको आठवटा ग्रेटर म्यान्चेस्टर अस्पतालमा उपचार भइरहेको छ। तिनीहरूमध्ये २० जनाको स्थिति चिन्ताजनक रहेको र केहीले खुट्टा गुमाएको बताइएको छ। घाइतेमा १६ वर्ष उमेरमुनिका १२ जना बालबालिका रहेका छन्।

प्रतिक्रिया दिनुहोस्