दलहरू भोट माग्दै गाउँमा – मतदाता यार्सा टिप्न बुकीतिर, गाउँ सुनसान



धनवीर दाहाल, रुकुम
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सरकारले जेठ ३१ गतेका लागि तोकेको छ। दलहरू आ–आफ्ना घोषणापत्र बोकेर गाउँ पसेका छन्। तर रुकुमका केही गाउँमा भने दलका स्थानीय नेता कार्यकर्तासमेत छैनन्। उनीहरू बुधबारबाट यार्साको सिजन शुरू भएपछि यार्सा टिप्न बुकीलेकतिर पसेका छन्। यार्सा सिजन शुरू भएपछि रुकुमका पूर्वी उत्तरी भेगका विद्यालयसमेत बन्द भएका छन्।

रुकुमको उत्तर भेगमा पाइने यार्सागुम्बाको सिजन शुरू हुन थालेपछि स्थानीयहरू सबै काम छोडेर बुकीलेकतिर लागेका हुन्। यार्सा सिजन व्यवस्थापन समितीले स्थानीयहरूलाई प्रवेशपत्र टोलटोलमा गएर वितरण गरेको छ। यस्तै बाह्य जिल्लाका सर्वसाधारणलाई प्रवेशपत्र तथा व्यापारीलाई परिचयपत्र बेस क्याम्पमै गएर वितरण गर्ने जानकारी दिएको छ। यार्सागुम्बा टिप्नका लागि सर्वसाधारणलाई सजिलो बनाउन नियमहरू बनाइएको छ। स्थानीयहरू र बाह्य जिल्लाका सर्वसाधारण तथा व्यापारीहरू बुकीलेकतिर लागेका छन्।

यस वर्ष यार्सा सिजन व्यवस्थापन समितिले आफ्नो परिचय खुल्ले परिचयपत्र, नागरिकता तथा विद्यार्थी परिचयपत्रलगायतमध्ये कुनै एकको प्रतिलिपिसमेत उपलब्ध गराउन अनुरोध गरेको छ। घरेलु हातहतियार, भरुवा बन्दुकलगायतका सामग्रीमा रोक लगाएको छ। विगतका वर्षहरूमा भएका घटनालाई मध्यनजर गर्दै यस वर्ष व्यवस्थापन समितिले कडा नियम बनाएको हो। स्थानीय भाषामा जीवनबुटीको नामले चिनिने यार्सागुम्बा पछिल्लो समय रुकुमेली जनताहरूको जीवन धाँन्ने बुटी नै बनेको छ।

रुकुमको पुथाउत्तरगंगा गाउँपालिका र भूमे गाउँपालिकाका स्थानीय बढी मात्रामा यार्सा टिप्न गएका छन्। पुथा उत्तरगंगा गाउँपालिकाको रन्मामैकोटलगायतका उच्च हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि बुधबारबाट खुल्ला गरिएको छ। डोल्पाको सिजनभन्दा चाँडो गरी रुकुमको पुथा उत्तरगंगाको मैकोट र आठबिसकोट नगरपालिकाको स्यालाखदीको यार्सा टिप्नका लागि खुला गरिन्छ।

रुकुमको यार्सा खोजेर मानिसहरू डोल्पातिर खोज्न जाने व्यवस्था गरिँदै आएको छ। मजदुरीका लागि भारत गएर वर्षभरि दुःख गरेर ज्यान पाल्न धौधौ भए पनि दुई महिना यार्सा टिप्दा धेरै सजिलो हुने भएपछि मजदुरीको पहिलो रोजाइ यार्सा टिप्न जानु नै बनेको छ। छोटो समयमै बढी आम्दानी हुने भएकाले मानिसहरूको आकर्षण यार्सा टिप्नुमा नै बढी देखिन्छ। प्रतिव्यक्ति १ हजार ५ सय कर तिर्नुपर्ने नियम यार्सा व्यवस्थापन समितिले बनाएको छ।

सो क्षेत्रका स्थानीय बासिन्दाले प्रतिव्यक्ति ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्ने गर्दछन्। जिल्ला वन कार्यालयबाट पुर्जी काटेर बुकी गएका स्थानीयहरू सोही ठाँउमा नै यार्सा बिक्री गर्ने गर्दछन्। एक किलो यार्सा संकलन गर्ने व्यापारीले जिल्ला वन कार्यालयमा २५ हजार राजस्व तिर्नपर्ने हुन्छ भने यार्सा व्यवस्थापन समितिलाई पनि छुट्टै रकम तिर्नुपर्दछ। यार्सालाई प्रतिगोटा ५ सयदेखि १ हजारको दरले बिक्री गरेको स्थानीयको अनुभव छ। यस वर्ष पनि ७ सयदेखि १४ सयसम्म पर्ने अनुमान गरिएको छ।

यस्तै प्रत्येक वर्ष गाउँका युवाहरूसमेत खर्च व्यहोरेर रुकुम र डोल्पाका विभिन्न पाटनमा जान्छन्। स्थानीयबाट खरिद गरेर देशका विभिन्न ठाउँबाट आएका व्यापारीलाई बिक्री गर्दा मात्रै धेरै आम्दानी हुने गरेको व्यापारीहरूको भनाइ छ। यार्सागुम्बा थोरै लगानीमा धेरै आम्दानी हुने भए पनि गरिब र विपन्न परिवारका लागि राम्रो आन्दानीको स्रोत बनेको छ। पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट, पुपाल हिमाल, पुथा, सिस्ने हिमाल, आठबिसकोट नगरपालिकाको गोतामकोट, स्यालाखदी र डोल्पाका पाटनमा यार्सा संकलन हुने गरेको छ। यार्सागुम्बाबाट विद्यार्थीले समेत फाइदा लिने गरेका छन्।

पूर्वी रुकुका अधिकांश विद्यालयका शिक्षक र विद्यार्थी पठनपाठन छोडेर यार्सा टिप्न पाटन जानेर गरेका छन्। कमै आन्दानी गर्ने विद्यार्थीले समेत १ लाखभन्दा बढी आन्दानी हुने भएकाले विद्यार्थी पाटन जाने गरेका हुन्। रुकुमका पूर्वी भेगका गाउँ प्रत्येक वैशाख जेठ महिनामा सुनसान हुने गर्छन्। स्थानीयबासी यार्सागुम्वाको एकै सिजनमा लाखौँ रुपियाँको आम्दानी हुने भएकाले वर्षभरि घरखेतबारीको काम गर्ने र एक वर्षको एक सिजनको दुई हप्तामै प्रतिघर बराबर ५ देखि ६ लाखसम्म आम्दानी गर्ने भएकाले बालबालिकादेखि वृद्धवृद्धा तथा विद्यार्थीदेखि शिक्षकसम्म यार्सागुम्बा टिप्न गाउँ नै छोडर लेकतिर जाने गर्छन्।

प्रतिक्रिया दिनुहोस्