राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाहालद्वारा राजीनामा पत्र प्रस्तुत



काठमाडौँ, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राजीनामा पत्र प्रस्तुत गर्नुभयो ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशवासीका नाममा सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा गरेको घोषणा गर्नुभएको थियो । घोषणा लगत्तै उहाँले बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर राजीनामा पत्र बुझाउनुभएको हो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएको हो ।

‘आजैका मितिदेखि लागू हुने गरी नेपालको संविधानको धारा २९८ को उपधारा (८) को खण्ड (क) बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजीनामा दिनुभएकाले सोही धाराको उपधारा (१०) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेछ’–राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले वर्तमान मन्त्रिपरिषद्द्वारा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यप्रति प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवादसमेत ज्ञापन गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्