विद्यालय बनाउन चिनियाँ परियोजना



नेपाल समाचारपत्र
भक्तपुर
हिमाली क्षेत्रका विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न चीन सरकारले १ अर्ब ५१ करोड ५० लाख रुपियाँको चाइना एड परियोजना शुरु गरेको छ। परियोजनाअन्तर्गत हिमाली क्षेत्रमा १० विद्यालय निर्माण गर्ने सम्झौता भइसकेको र पहिलो चरणमा २ विद्यालयको निर्माणकार्य शुरु भएको शिक्षा विभागले जनाएको छ।

शिक्षा विभागमा सोमबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत मिस यु होङ र शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले परियोजनाको संयुक्तरूपमा शुभारम्भ गर्नुभयो। कार्यक्रममा शिक्षा सचिव श्रेष्ठले सुविधा सम्पन्न भवन र सम्पूर्ण शैक्षिक पूर्वाधारको व्यवस्थाबाट हिमाली भेगको बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने र भूकम्पले क्षति भएका विद्यालयहरूको पुनर्निर्माण गर्नुपर्ने बेलामा आएको चीनको सहयोग सह्र्रानीय भएको बताउनुभयो।

चिनियाँ राजदूत होङले चीनको सहयोगमा निर्माण हुन लागेको दुई विद्यालयबाट त्यहाँका विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नेमा विश्वस्त रहेको बताउँदै नेपालमा भूकम्पले भत्काएको भवनको पुनर्निर्माणमा पनि चीनले सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि चीनको सहयोग जारी रहने बताउनुभयो।

कार्यक्रममा शिक्षा विभागका निर्देशक मित्रनाथ गर्तौलाले चीनको सहयोगमा बन्ने विद्यालयका कारण हिमाली क्षेत्रका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने बताउनुभयो। परियोजनाअन्तर्गत सिन्धुपाल्चोकको बराम्ची गाविस–९ स्थित रत्नराज्य माध्यामिक विद्यालयको भवन ८१ करोड रुपियाँको लागतमा निर्माण हुने भएको छ। ६ सय ३० विद्यार्थीको क्षमता रहने उक्त विद्यालयको भवन आगामी २१ महिनाभित्र निर्माण सम्पन्न हुने कार्यक्रममा बताइएको छ।

उक्त विद्यालयको कक्षा कोठा, संगीत कक्ष, टेबुलटेनिस कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्यालय, क्यान्टिन, पुस्तकालय, संयुक्त कक्षाकोठा, प्रयोगात्मक कक्षा, अध्ययन, कला, शौचालय, खेल मैदान एवं शैक्षिक सामाग्रीहरू रहनेछन्।
परियोजनाअन्तर्गत पहिलो चरणमा लमजुङको हिमाली क्षेत्रको भैरव मावि निर्माणका लागि ४ सय १६ विद्यार्थी क्षमताको ७० करोड ५० लाख रुपियाँको लागतमा आवासिय विद्यालय भवन निर्माण गरिने भएको छ। कक्षा १२ सम्म सञ्चालन भएको उक्त विद्यालयको पूर्वप्राथमिक कक्षाकोठा, नियमित पढाइ हुने कक्षाकोठा, पुस्तकालय, संयुक्त कक्षाकोठा, क्यान्टिन, शौचालय, खेल मैदान प्रयोगात्मक कक्षा, अध्ययन, कला, संगीत कक्ष, टेबुलटेनिस कक्ष, कम्प्युटर कक्ष, शिक्षक कक्ष एवं कार्याललगायतको संचरना निर्माण हुनेछन्।

भवन आगामी २४ महिनाभित्र निर्माण सम्पन्न हुने योजना महाशाखाका निर्देशक दीपक शर्माले बताउनुभयो। शिक्षा विभागले हिमाली भेगका विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले सो परियोजना शुरु गरेको हो।

प्रतिक्रिया दिनुहोस्