ट्रेलरमा तारेभीर



विभिन्न घटनाहरुलाई जोडेर कथानक रूप दिइएको फिल्म तारेभीरको ट्रेलर र गीतको भिडियो सार्वजनिक गरिएको छ। फिल्मको निर्माण पक्षले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको हो।

आगामी असार २ गते रिलिज हुने फिल्ममा कलाकार प्रेम सुब्बाको कथा तथा निर्देशन रहेको छ। उनले पत्रपत्रिकामा आएका विभिन्न घटनालाई कथात्मकरूपमा फिल्ममा प्रस्तुत गरिएको बताए। ‘पत्रपत्रिकामा बलात्कार, बम विस्फोटलगायतका विषयले प्राथमिकता पाउन थालेपछि यसै विषयलाई लिएर फिल्म बनाएको छु, सुब्बाले भने– ‘लामो समयसम्म अभिनयमा क्षेत्रबाट कमाएको अनुभवलाई फिल्म निर्देशनमा उतार्ने प्रयास गरेको छु।’ कार्यक्रममा फिल्मका निर्माता डीके देवानले फिल्ममा आफूले छोटो भूमिकामा अभिनय गरेको जानकारी गराउँदै लगानी खेर नजाने विश्वास व्यक्त गरे। फिल्ममा प्रमुख नायिका विष्णु चेम्जोङको बहिनीको भूमिकामा देखिएकी नायिका रेखा फागोले आफ्नो भूमिका सशक्त रहेको दाबी गरिन्। नायक निर्मल थापाले सामाजिक विषयवस्तुमा फिल्म बनेकाले पनि दर्शकले रुचाउने विश्वास व्यक्त गरे।

फिल्म बलिदानमा निर्देशक प्रेमसँग काम गरिसकेका ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले प्रेमको काममा आफू विश्वस्त रहेको बताए। ‘उहाँले देशको अवस्थालाई चित्रण गर्दै फिल्म बनाउनुभएको छ। फिल्मले दर्शकको माया पाउनेछ भन्ने कुरामा म ढुक्क छु –हरिवंशले भने। नेक्स्ट जेनेरेसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु चेम्जोङ, नवीन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, डीओ कृष्ण देवान, दीपेश श्रेष्ठ, अजयकुमार माझी, मञ्जु श्रेष्ठ, रञ्जित राना, निर्मल थापालगायतले अभिनय गरेका छन्। फिल्ममा रामप्रसाद चौधरीको सम्पादन, गोविन्द राई र दिनेश मांगमुको नृत्य, प्रकाश गुरुङ, सनुप पौडेल र ब्रबिम शर्माको संगीत, जनक गुरुङको एक्सन, प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा तथा संवाद र युवराज राईको छायांकन छ।

प्रतिक्रिया दिनुहोस्