तल खरानी, माथि स्मारक



टीका बन्धन, चितवन
मुलुकका विभिन्न संरक्षित क्षेत्र र जिल्ला वन कार्यालयहरूबाट विगत २ दशक अघिदेखि संकलन गरिएका ४ हजार थानभन्दा बढी वन्यजन्तुका अङ्ग प्रत्यङ्ग (आखेटोपहार) सोमबार सामूहिक रूपमा नष्ट गरिएको छ।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय परिसर कसरामा आयोजित विशेष समारोहका बीच विभिन्न ४८ प्रजातिका वन्यजन्तुका ४ हजार १२ थान आखेटोपहार जलाइएको हो।

प्राकृतिक रूपमा मृत्यु भएका, चोरी शिकारीका क्रममा अवैधरूपमा मारिएका र अवैध व्यापारका क्रममा सो संख्यामा संकलन गरिएका अङ्ग प्रत्यङ्गलाई विशेष प्रकारको भट्टी बनाएर जलाइएको हो।

विज्ञ र प्राविधिकहरूको टोलीले सिफारिस गरेअनुसार मन्त्रिपरिषद्को यही जेठ ४ गतेको बैठकको निर्णयअनुसार सो संख्याको आखेटोपहार नष्ट गरिएको हो।

वन मन्त्रालयका अनुसार सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौलीमा १ हजार ७ सय ३९ थान र चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा २ हजार २ सय ७३ थान आखेटोपहार भण्डारण गरिएको थियो।

त्यसमध्ये चितुवाको छाला ४ सय १८ थान, गैंडाको खाग ३ सय ५७ थान, हात्तिको पुच्छरको रौं ३ सय ५४ थान, बाघको छाला ६७ थान र हाब्रेको छाला ४७ थान जलाइएको छ।

त्यसै गरी चिरुको ऊन ४२ पोका, भालुको पित्त १५ थान, ध्वाँसे चितुवाको छाला २ थान, सालकको खपटा २ पोका, चितुवाको छाला २ थान नष्ट गरिएको छ।

मुलुकमा नरहेका सामुद्रिक घोडा, चिरुको रौं, सामुद्रिक हाँसका प्वाखलगायतका अङ्ग प्रत्यङ्ग पनि सामूहिकरूपमा नष्ट गरियो। हात्तीको दाह्रा जलाउनका लागि ९ सय डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने भएकाले तत्काल त्यस्तो व्यवस्था असम्भव भएकाले भण्डारण गरिएका १ हजार १ सय केजी दाह्रा भने जलाइएन।
विज्ञहरूले सिफारिस गरेअनुसार बाघको छाला ५ थान, गैंडाको खाग १० थान, कस्तुरीको विना ४ थान, चिरुको उन १ पोका, हाब्रेको छाला २ थान र हिउँ चितुवाको छाला एक थान भने सुरक्षित राखिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो।
सुरक्षित राखिएका अङ्ग प्रत्यङ्ग वन मन्त्रालयको पहलमा शैक्षिक अध्ययन अनुसन्धान प्रयोजनका लागि प्रयोगमा ल्याइने सो मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि एवं परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नष्ट गर्न तयार पारिएका वन्यजन्तुको आखेटोपहारमा आगो सल्काउनुभएको थियो।
कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री महतसहित वनमन्त्री शंकर भण्डारी, वनराज्य मन्त्री दीर्घराज भाट, नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजलगायतका विशिष्ट व्यक्तित्व चितवन आउनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीहरूले दुर्लभ वन्यजन्तुको संरक्षण र अवैध चोरी शिकारीविरुद्ध सरकारले तस्करहरूलाई गतिलो जवाफ दिएको बताए। वन्यजन्तुको चोरी शिकारी एवं अवैध व्यापार नियन्त्रण कार्यमा यो कदम ऐतिहासिक र महत्त्वपूर्ण भएको मन्त्रीहरूको भनाइ थियो।

त्यसै गरी, राजदूत टेप्लिजले वन्यजन्तुको अवैध व्यापार र चोरी शिकारी नियन्त्रण र बाघ, गैंडाजस्ता ठूला र लोपोन्मुख जन्तुको संरक्षणमा नेपालले गरेको प्रयासको प्रशंसा गर्दै भन्नुभयो– ‘नेपालको प्रयासले विश्वलाई सकारात्मक सन्देश दिएको छ।’ आफ्नो मुलुकले अन्य सहयोगसरह दुर्लभ वन्यजन्तु संरक्षणमा नेपालसँग हातेमालो जारी राखेको उहाँले बताउनुभयो।

कार्यक्रममा संसद्को वातावरण संरक्षण समितिका सदस्यहरू तथा राष्ट्रिय⁄अन्तर्राष्ट्रिय संरक्षण साझेदार संघ⁄संस्थाका प्रतिनिधि कसरा आएका थिए। आखेटोपहार औषधिलगायत अन्य प्रयोजनमा प्रयोग नहुने गतिलो सन्देश सरकारले दिएको सरोकारवालाहरूको भनाइ थियो।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय बाघ संरक्षण समितिको ४ वर्षअघिको चौथो बैठकले भण्डारण गरिएका आखेटोपहारलाई कार्यविधि बनाएर नष्ट गर्ने निर्णय गरेको थियो। तर उचित कार्यविधि नहुँदा नष्ट गर्ने प्रक्रिया लम्बिनुका साथै आखेटोपहार भण्डारणस्थलको सुरक्षा जोखिमसमेत बढेको थियो।

त्यसै गरी संसद्को वातावरण समितिको २ वर्षअघिको ७१औं बैठकले भण्डारण गरिएका आख ेटोपहारको ‘वार कोडिङ’ गरेर फोटो खिचेर नमुना संकलन गर्न निर्देशन दिएको थियो।

सोहीअनुसार सम्पूर्ण आखेटोपहारको फोटो खिचेर वन मन्त्रालयले सुरक्षित गरेको छ। पछिल्लो समयमा सरकारले वन्यजन्तुका अङ्ग प्रत्यङ्ग जलाउने प्रक्रिया अघि बढाएपछि अमेरिकाबाट आएका विज्ञहरूले दिएको अध्ययन सुझावका आधारमा विशेष भट्टी बनाएर नष्ट गरिएको हो।

यसरी जलाइएका आखेटोपहारको खरानी संकलन गरेर एउटै खाल्टोमा पुरिनेछ भने खरानी पुरिएको स्थलमा एक महिनाभित्र वन्यजन्तु स्मारक बनाउने प्रक्रियासमेत अघि बढाइएको छ।

चितवन राष्ट्रिय निकुञ्जको मूल गेटतर्फको पूर्वी दिशामा एक महिनाभित्रै वन्यजन्तु स्मारक बनाइने वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

यसअघि नेपालमा २०५४ चैत ९ गते आखेटोपहार नष्ट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्