राष्ट्रपतिद्वारा सेना प्रयोगको अनुमति



काठमाडौं, (नेस)ं
यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न सरकारले अनुमति पाएको छ।

मन्त्रिपरिषद्को हालैको बैठकले सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो।

दोस्रो चरणको निर्वाचनमा नेपाली सेना ४५ हजार परिचालन हुने भएको छ। सेनाले मतदान हुने इलाकाको सुरक्षा गर्ने जनाइएको छ। सेनाले अब मतदान हुने क्षेत्रलाई तीन भागमा विभाजन गरेर सुरक्षा फौज परिचालन गर्ने भएको छ।
अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेर सेना परिचालन हुने सैनिक प्रवक्ता सहायक रथी झंकर कठायतले जानकारी दिनुभयो।

दोस्रो चरणको निर्वाचन ४३ जिल्लाका ४ सय ८४ स्थानमा हुने भएको छ। उक्त निर्वाचनमा नेपाल प्रहरीका ३५ हजार र म्यादी ६० हजार परिचालन हुनेछन्। त्यस्तै, सशस्त्र प्रहरी बलका २१ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

यसपटक हुने निर्वाचनमा अति संवेदनशील र संवेदनशील क्षेत्र बढी भएका कारण सुरक्षाकर्मी अघिल्लो निर्वाचनको तुलनामा बढी परिचालन हुने भएका छन्।

निर्वाचन आयोगले अबको निर्वाचनमा सुरक्षाकर्मीको संख्या बढाउन सरकारलाई आग्रह गरेपछि सरकारले पहिलो चरणमा सहभागी भएका म्यादी प्रहरीलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन लागेको हो।

सरकारले २ नम्बर प्रदेशको ८ जिल्लामा सुरक्षाकर्मीको संख्यालाई अन्य जिल्लाको तुलनामा झन्डै दोब्वर परिचालन गर्ने रणनीति बनाएको छ। निर्वाचन आयोगले सबै जिल्लामा निर्वाचन कार्यालय खडा गरी कामलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्