पहिलो चरणको निर्वाचनपछि चुनावी चहलपहल बढ्यो



नेपाल समाचारपत्र
बैतडी
पहिलो चरणको स्थानीय तहको निर्वाचन भएपछि दोस्रो चरणको निर्वाचन हुने जिल्लाहरूमा पनि चुनावी चहलपहल बढ्दै गएको छ। बैतडीमा केही शिथिल भएको चुनावी प्रचारप्रसार पहिलो चरणको निर्वाचन भएसँगै बढेको हो। अहिले जिल्लाका मुख्य बजार तथा चोकहरूमा विभिन्न पार्टीका झन्डा गाड्नुका साथै राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन्। पहिलो चरणको निर्वाचन भएपछि अब दोस्रो चरणको निर्वाचन हुने कुरामा ढुक्क रहेको नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्र थापाले बताउनुभयो। उम्मेदवारको टुंगो लगाउने कार्य अन्तिम चरणमा पुगेकाले प्रचारप्रसार पनि सँगसँगै लगिने उहाँले बताउनुभयो।

उम्मेदवारको टुंगो लगाइसकेको एमालेले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको नेकपा एमाले बैतडीका सचिव लीलाधर भट्टले जानकारी दिनुभयो। पहिलो चरणको निर्वाचन सम्पन्न भएकाले दोस्रो चरणको निर्वाचन हुने आशा पलाएकाले प्रचारप्रसारलाई तीव्रता दिएको उहाँले बताउनुभयो। यस्तै नेकपा माओवादी केन्द्रले पनि उम्मेदवारको टुंगो लगाइसकेकाले चुनावी प्रचारप्रसारमा खटिएको माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिनुभयो। देशमा झन्डै दुई दशकपछि स्थानीय तहको निर्वाचन भएकाले दोस्रो चरणको निर्वाचनको लहर पनि छाएको जिल्ला विकास समिति बैतडीका पूर्वसभापति परमानन्द भट्टले बताउनुभयो। उहाँले भन्नुभयो– ‘केही दिन यता शिथिल भएको चुनावी प्रचारप्रसारले पहिलो चरणको निर्वाचन भएसँगै तीव्रता पाएको छ।ु

यसैबीच पहिलो चरणको स्थानीय तहको निर्वाचन भएपछि आममतदाता खुसी भएका छन्। ‘करिब दुई दशकपछि स्थानीय तहको निर्वाचन भएको छ र दोस्रो चरणको निर्वाचन हुनेमा ढुक्क छौुं, दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीले भन्नुभयो– ‘अब दोसो चरणको स्थानीय तहको निर्वाचन हुने कुरामा आशावादी छौं।

प्रतिक्रिया दिनुहोस्