माओवादी केन्द्रको महिलासहित सबै उम्मेदवार घोषणा



नेपाल समाचारपत्र
खोटाङ
नेकपा माओवादी केन्द्र खोटाङले रूपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि महिला उम्मेदवारसहित १५ वटै वडाको सबै उम्मेदवार घोषणा गरेको छ। दोस्रो चरणमा आगामी जेठ ३१ गते तोकिएको स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले आइतबार दिक्तेलस्थित समीक्षालय हलमा आयोजित कार्यक्रममा रूपाकोट मझुवागढी नगरपालिकाको मेयरमा पूर्वसभासद् दुर्गाजयन्ती राई र उपमेयरमा होमकाजी आचार्य विनोदसहित सबै उम्मेदवारको घोषणा गरेको हो।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका ठूला दलमध्येका कांग्रेस र एमालेले हालसम्म मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउन नसकिरहेका बेलामा माओवादी केन्द्रले लामीडाँडा गाउँपालिकाबाहेकका गाउँ⁄नगरपालिकामा उम्मेदवारको टुंगो लगाइसकेको छ। अन्य दलमा मेयरका लागि पुरुषको मात्र चर्चा भइरहेका समयमा माओवादी केन्द्रले भने मेयरमै महिला उम्मेदरलाई टिकट दिएको छ। मेयरका प्रत्यासी राई २०६४ सालमा संविधानसभाको सामानुपातिक सदस्य बन्नुभएको थियो।

माओवादी केन्द्रले रूपाकोट मझुवागढी नगरपालिका–१ मा पर्शुराम विक, २ मा सन्तोष राई, ३ मा हस्तकुमार राई, ४ मा खगेन्द्र राई, ५ मा प्रेम कटवाल, ६ नेर्पामा माधव राई, ७ दोर्पाचिउरीडाँडामा हरिप्रसाद चौंलागाईं, ९ निर्मलीडाँडामा बलराम राई, ११ खार्मीमा सुरेशकुमार तामाङ, १२ जालपामा विकास राई, १३ नुनथलामा भीम राई, १४ बुइपामा गणेश राई र १५ विजयखर्कमा वाणीवेलास ढुंगानालाई वडाध्यक्षको उम्मेदवार दिएको छ।

चुनावी तालमेलका क्रममा माओवादी केन्द्रले रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा कांग्रेसका गोपालसिं राईलाई र १० मा संघीय समाजवादी फोरमका मुगाधन राईलाई वडा अध्यक्ष दिएर सदस्य लिएको खोटाङ इन्चार्ज ध्रुव बुढाथोकीले घोषणा गर्नुभयो।

केन्द्रले रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा संघीय समाजवादी फोरमसँग, रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामै कांग्रेस र संघीय समाजवादी फोरमसँग तथा रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा संघीय समाजबादी फोरमसँग चुनावी तालमेल गरेर उम्मेदवार घोषणा गरेको छ। माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको उपस्थितिमा उम्मेदवार घोषणा गरिएको हो। जिल्लामा अन्य कुनै पनि दलले अध्यक्ष तथा प्रमुखमा महिला उम्मेदवार सम्भव नभएको जनाइरहेको समयमा माओवादी केन्द्रले अन्य ३ गाउँपालिकामा समेत अध्यक्षमा महिला उम्मेदवार नै टुंगो लगाइसकेको तर औपचारिक घोषणा गर्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्