अमेरिकामा झल्किएको सभ्य र भव्य नेपाल



व्याकुल पाठक
म्यानहाटन, न्युयोर्क अमेरिका
गगनचुम्बी भवन, सफा र चौडा सडक, त्यही सडकमा अनुशासित र सभ्य ढंगले नेपालको विविधता झल्कने झाँकीसहित हजारौंको जुलुस ! विकसित देश, सभ्य र जिम्मेवार राजनीतिक दल अनि अनुशासित जनता नेपालको वर्षौंको चाहना हो । यो चाहना आइतबार साकार भएको देखिन्थ्यो तर नेपालमा होइन अमेरिकामा ! संसारकै राजधानी मानिने अमेरिकाको व्यापारिक शहर न्युयोर्कको पनि केन्द्र म्यानहाटनमा आइतबार आयोजित दोस्रो नेपाल डे परेडमा यस्तो दृश्य देखिएको थियो ।

 

नेपालीहरूको पहिचानलाई एकताबद्ध गर्दै नेपाली कला–संस्कृतिको परिचय दिने उद्देश्यले आयोजना गरिएको परेडको उद्घाटन उद्योगमन्त्री नवीन्द्रराज जोशीले गरेका थिए । मेडिसन एभिन्युको ३८ स्ट्रिटबाट सुरु भई मेडिसिन एभिन्युकै २७ स्ट्रिटसम्मको सडक स्थानीय प्रशासनले करिब चार घण्टाका लागि खाली गराएको थियो । परेड आयोजक समितिकी सदस्य गीता पन्थले दिएको जानकारी अनुसार परेडमा करिब सात हजारको सहभागिता रहेको थियो ।

नेपालको हिमाल, पहाड, तराईका विविध जनजातिका सांस्कृतिक झाँकी र गीतसंगीतको तालमा परेड अगाडि बढ्दा चौडा र सफा सडक अनि अग्ला भवनलाईबिर्सिने हो भने आफूलाई अमेरिकामा छु भन्ने भान नै हुँदैनथ्यो । हिमालका शेर्पा–थकाली, पहाडका राई, राई–लिम्बु–मगर–गुरुङ, उपत्यकाका नेवार, पहाडका बाहुन अनि तराईका केही जातिय संस्कृति झल्किने झाँकी परेडका प्रमुख आकर्षण थिए ।

उद्योगमन्त्री जोशीले विदेशीभूमिमा नेपालीहरूले देखाएको यो एकता, अनुशासन अनि नेपाल चिनाउन गरेको प्रयत्नले आफू मन्त्रमुग्ध भएको प्रतिक्रिया दिनुभयो । परेड आयोजक कमिटीका संयोजक मंगलदास श्रेष्ठले सबैको उत्साहजनक सहभागिताले विदेशी भूमिमा नेपाल चिनाउने प्रयास सफल भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा यो पटक परेड अझै भव्य भएको र आगामी दिनमा पनि सहभागितामा व्यापकता दिंदै निरन्तरता दिने जानकारी दिनुभयो ।

जातिय झाँकीका साथै परेडमा बुुद्ध, पशुपतिनाथ, जानकी मन्दिर, सगरमाथाका ठूला चित्रअंकित ट्रकहरूले परेडको शोभा बढाउँदा पेटीबाट नियालिरहेका अमेरिकीहरू आकर्षित भइरहेका थिए ।

न्युयोर्कको क्वीन्सबाट म्यानहाटन पुगेका डेभिड हड्सनले भन्नुभयो– ‘नेपालको माउन्ट एभरेष्ट र शेर्पाबारे मलाई पहिल्यै जानकारी भए पनि यतिका विविधताबारे आजै थाहा पाएँ ।’ उहाँले आफूले नेपाल भ्रमण गर्ने योजना बनाएको जानकारी पनि दिनुभयो ।

परेडको सुरक्षामा खटिएकी सुरक्षार्मी इमिलीले नेपालीहरूले अनुशासित ढंगले परेड संचालन गरेको र आफूले नेपाल र नेपालीबारे नजिकबाट थाहा पाएको बताउनुभयो ।

अपेक्षा अनुरूप परेड अवलोकनमा अमेरिकीहरूको सहभागिता भने थिएन । सिंगो नेपाल नै झल्किएको परेड बढीभन्दा बढी विदेशीलाई देखाउन सकिएको भए नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रतिक्रिया सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेर मेलामा सहभागी साहित्यकार किशन सिंह धामीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्