जनताले कट्टरपन्थलाई अस्वीकार गरेः रुहानी



तेहरान, (एजेन्सी)
इरानका राष्ट्रपति हसन रुहानीले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि आफ्नो विजयलाई लिएर मतदाताहरूले कट्टरपन्थलाई अस्वीकार गरेको र उनीहरू बाहिरी विश्वसँग थप सम्बन्धका लागि इच्छुक रहेको बताए।

करिब ५७ प्रतिशत मत हासिल गरी सिधै जित हासिल गरेका रुहानीले आफूले आफ्ना आलोचना गर्ने विरोधीहरूको अधिकारको पनि सम्मान गरेको बताए। ६८ वर्षीय रुहानीले पश्चिमी देशसँग इरानको परमाणु कार्यक्रमलाई लिएर ऐतिहासिक सम्झौता गरेका थिए। उक्त सम्झौतापछि इरानले पश्चिमी देशहरूको प्रतिबन्धबाट राहत तथा आर्थिक सहयोगको बदलामा आफ्नो परमाणु कार्यक्रम रोकेका थिए।

रुहानीको यो निर्णायक जितले उनलाई सुधार लागू गर्न तथा रुग्न अर्थ व्यवस्थालाई सही मार्गमा ल्याउने जनादेश प्राप्त भएको विश्लेषकहरूले बताए। जितपछि सरकारी टेलिभिजनबाट प्रसारित आफ्नो भाषणमा रुहानीले भने– ‘इरानले विश्वसँग वार्ताको मार्ग चुने। यो मार्ग हिंसा र कट्टरपन्थबाट अलग्ग हो।’
‘अब चुनाव समाप्त भयो। म अब देशको राष्ट्रपति हुँ र मलाई प्रत्येक इरानीको सहयोग आवश्यक छ, उनको पनि जसले मेरो र मेरा नीतिहरूको विरोध गर्छन्’ –उनले बताए।
रुहानीले आफ्नो भाषणमा इराका पूर्वसुधारवादी राष्ट्रपति मोहम्मद खतामीलाई पनि धन्यवाद दिए। उनले खतामीको नाम सार्वजनिक रूपमा उल्लेख गरेर उनीमाथि लगाइएको सञ्चार प्रतिबन्धको उल्लंघन गरेका छन्। इरानमा शुक्रबार भएको राष्ट्रपति चुनावमा अनुमानभन्दा निकै धेरै करिब ७० प्रतिशतले मतदान गरेका थिए।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले ट्विटरमा भने– ‘चुनावले इरानी राष्ट्रपतिको बढ्दो प्रगतिलाई दर्साएको छ।’ खामेनीले इरान अन्य देशसँगको सम्बन्धको मामिलामा राष्ट्रिय सम्मान र समझदारी देखाउने पनि बताए। चुनाव नतिजा आएपछि राजधानी तेहरानमा खुसियाली छाएको छ। ठूलो संख्यामा युवा शहरको मुख्य चोकहरूमा खुसिलाली मनाउन जम्मा भएका छन्।

प्रतिक्रिया दिनुहोस्