रियल मेड्रिडलाई चाहियो एक अंक



मेड्रिड, (एजेन्सी)
स्पेनिस ला लिगाअन्तर्गत बुधबार भएको खेलमा रियल मेड्रिडले सेल्टा भिगोलाई ४–१ गोल अन्तरले हराएर उपाधि हात पार्न मात्र एक अंक आवश्यक भएको छ।
सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा रियल मेड्रिडले सानदार जितसँगै स्पष्ट ३ अंक जोडेको हो। यो जितले रियल मेड्रिडले बार्सिलोनालाई ३ अंकले उछिन्दै लिग तालिकाको शीर्ष स्थान कब्जासमते ग¥यो। अन्तिम खेलअघि रियलको ९० अंक छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ८७ अंक रहेको छ।

बुधबारको खेलमा रियल मेड्रिडले १०औं मिनेटमा नै रोनाल्डोको गोलबाट अग्रता लिएको थियो। यस्तै ४८औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। यसै गरी खेलको ६२औं मिनेटमा सेल्टा भिगो १० खेलाडीमा सीमित भयो। सेल्टा भिगोका इयागो आस्पास दोस्रो पहेंलो कार्डका शिकार भएका थिए। तर, खेलको ६९औं मिनेटमा जोन गुइडिटीले गोल गर्दै सेल्टालाई खेलमा फर्काउने प्रयास गरे। तर, गोल बहोरेको एक मिनेटपछि नै करिम बेन्जेमाले रियलको तर्फबाट तेस्रो गोल गरे। यस्तै खेलको ८८औं मिनेटमा टोनी क्रुसले गोल गरेपछि रियल मेड्रिडले ४–१ गोल अन्तरको जित आत्मसात गर्न सफल भयो।

रोनाल्डोको अर्को कीर्तिमान

सेल्टा भिगाविरुद्ध २ गोल गरेका क्रिस्टियानो रोनाल्डोले जिमी ग्रिभ्सको ४६ वर्ष पुरानो कीर्तिमानलाई पछि पारेका छन्। इंग्ल्यान्डका ग्रिभ्सले सन् १९७१ मा युरोपको शीर्ष पाँच लिग (इंग्ल्यान्ड, स्पेन, इटाली, फ्रान्स र जर्मनी) मध्ये एकमा ३ सय ६६ गोलको कीर्तिमान रचेका थिए। ग्रिभ्सले टोटनह्याम, चेल्सी र वेस्ट ह्यामबाट खेलेका थिए।

रोनाल्डोले ३ सय ६८ लिग गोल पूरा गर्दा ग्रिभ्सले भन्दा ६८ म्याच कम खेलेका छन्। उनले म्यानचेस्टर युनाइटेडमा हुँदा प्रिमियर लिगमा ८४ गोल गरेका थिए। उनका लिगका प्रतिद्वन्द्वी बार्सिलोना लियोनल मेसीले ३ सय ४७ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्