वाणिज्य बैंकको निक्षेप संकलन सुस्तायो



रोविन पौडेल, काठमाडौं

चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा वाणिज्य बैंकको निक्षेप संकलन गत वर्षको तुलनामा सुस्ताएको छ। कर्जा प्रवाह दर भने बढेको छ। नेपाल राष्ट्र बैंकको चालू आवको नौ महिने तथ्यांकले यस्तो बताएको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ८ दशमलव ९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह १५ दशमलव ६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप १२ दशमलव १ प्रतिशतले बढेको थियो। सो अवधीमा कर्जा प्रवाह १४ दशमलव ४ प्रतिशतले बढेको थियो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको अन्त्यसम्ममा कूल १ खर्ब ३५ अर्ब रुपियाँ निक्षेपसहित राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा धेरै निक्षेप संकलन गर्नेे शीर्ष स्थानमा देखिएको छ।

अघिल्लो बर्षको यही अबधिमा सो बैंकले १ खरब ३० अर्ब रुपियाँ बरारबको निक्षेप संकलन गरेको थियो। त्यस्तै यस अवधिमा बैंकले १ खर्ब १३ अर्ब बराबरको कर्जा प्रबाह गरेको छ। त्यस्तै चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अन्त्यसम्ममा कुल १ खर्ब १९ अर्ब रुपियाँ बराबर निक्षेपसहित नेपाल इन्भेस्टमेन्ट बैंक दोस्रो र १ खर्ब १७ अर्ब रुपियाँ निक्षेपसहित नबिल बैंक तेस्रो स्थानमा छन्। इन्भेस्टमेन्ट बैंकले १ खर्ब १ अर्ब रुपियाँ र नबिल बैंकले ९५ अर्ब ५५ करोड रुपियाँ बराबरको कर्जा प्रवाह गरेका छन्।

यस अवधिसम्म हिमालय बैंकले कुल ९२ अर्ब ८९ करोड र एभरेस्ट बैंकले ९२ अर्ब ८१ करोड रुपियाँ निक्षेप संकलन गरेका गर्दै निक्षेप संकलनको होडबाजीमा चौथो र पाचौं स्थान ओगटेका छन्। ९ महिना अन्त्यसम्म दुई बैंकले क्रमसः ७८ अर्ब ८ करोड र ७३ अर्ब ५५ करोड कर्जा प्रवाह गरेका छन्। वार्षिक बिन्दुगत आधारमा २०७३ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १६ प्रतिशतले बढेको छ। २०७३ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलब ५ प्रतिशत, ३६ दशमलब ६ प्रतिशत र ४० दशमलब ६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९ दशमलब ४ प्रतिशत, ४२ दशमलब ८ प्रतिशत र २८ दशमलब ८ प्रतिशत रहेको थियो। यस अवधीमा गत वर्षको तुलनामा वाणिज्य बैंकको कर्जा प्रवाह १९.१ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको पहिलो नौ महिनासम्म वाणिज्य बैंकहरूको कर्जा तथा निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर ५ दशमलब ७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको चैत मसान्तसम्मम यस्तो ब्याजदर अन्तर ६ दशमलब १ प्रतिशत रहेको थियो। वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर २०७२ चैतको ६ दशमलब ३ प्रतिशतको तुलनामा २०७३ चैतमा ८ दशमलब ६ प्रतिशत कायम छ।

अन्तर–बैंक कारोबारतर्फ आर्थिक वर्ष २०७३⁄७४ को ९ महिनासम्ममा वाणिज्य बैंकहरूले ७७२ अर्ब ५ करोड र अन्य वित्तीय संस्थाले २९६ अर्ब ७८ करोड रुपियाँको अन्तर–बैंक कारोबार गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूले क्रमशः ६४० अर्ब २४ करोड र ६१ अर्ब ४७ करोड रुपियाँको यस्तो कारोबार गरेका थिए।

यस्तै पुर्नकर्जा, उत्पादनशील कर्जा र विपन्न वर्ग कर्जा उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ। समीक्षा अवधिमा साधारण पुर्नकर्जा ९ अर्ब ७ करोड १० लाख र निर्यात कर्जा ४२ करोड ४३ लाख रुपियाँ गरी कुल ९ अर्ब ४९ करोड ५३ लाख पुनर्कर्जा उपयोग भएको छ। अघिल्लो वर्षको सोही अवधिमा साधारणतर्फ २ अर्ब ९० करोड र निर्यात पुनर्कर्जा रु. १ अर्ब १२ करोड गरी जम्मा रु. ४ अर्ब २ करोड पुनर्कर्जाको उपयोग भएको थियो।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्फ लगानीमा रही रहेको कर्जा १५ दशमलब ६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४ दशमलब ४ प्रतिशतले बढेको थियो। निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको १९ दशमलब १ प्रतिशत र विकास बैंकहरूको ० दशमलब १ प्रतिशतले घटेको छ भने वित्त कम्पनीहरूको २ दशमलव ८ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा २०७३ पुसमा बैंक तथा वित्तीय संस्थाहरूको निजी क्षेत्रतर्पm लगानीमा रहेको कर्जा २५ दशमलव १ प्रतिशतले बढेको छ।

त्यस्तै कृषि क्षेत्रतर्फको कर्जा ९ दशमलब ३ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११ दशमलब ६ प्रतिशत, निर्माण क्षेत्रतर्पmको कर्जा १७ दशमलब ५ प्रतिशत रहेको छ। थोक तथा खुद्रा व्यापारतर्फको कर्जा १३ दशमलब ५ प्रतिशत, सेवा उद्योगतर्फको कर्जा १६ दशमलब ३ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २४ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्