बजेट अगाडि प्रम नछोड्ने प्रचण्डको मुड



मधुसूदन रायमाझी, काठमाडौं
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केही तहमा तालमेल गरेर निर्वाचनमा भाग लिएका सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा खटपट शुरू भएको छ। चुनाव तालमेल भएको चितवनको भरतपुर महानगरपालिकामा अपेक्षाअनुसारको मत परिणाम नआएपछि माओवादीले कांग्रेसले ‘बेइमानी’ गरेको निष्कर्ष निकालेको छ। चुनावी तालमेल गरेको स्थानीय तहमा अपेक्षाअनुसारको नतिजा आउन नसकेपछि कांग्रेससँग माओवादी केन्द्र रुष्ट बनेको छ।

कांग्रेस र माओवादीबीच भएको सहमतिअनुसार वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिने बताइए पनि पहिलो साता राजीनामा नगर्ने मनस्थितिमा प्रचण्ड पुग्नुभएको छ। सत्तारूढ दलबीच प्रधानमन्त्रीले जेठ ६ गते राजीनामा दिएर कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो। तर प्रधानमन्त्री प्रचण्डले जेठ १५ गते कामचलाउ बजेट घोषणा गरेर मात्र राजीनामा दिने तयारी गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले नेपाल समाचारपत्रसँग भने– ‘प्रधानमन्त्रीले राजीनामा दिएपछि १० दिन सरकार गठन गर्नका लागि समय लाग्छ, राजीनामा नदिई बजेट घोषणा गरेर मात्र सरकारबाट राजीनामा दिने गृहकार्य भइरहेको छ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रधानमन्त्री प्रचण्डले छिटो राजीनामा दिन दबाब दिँदै आउनुभएको छ। तर, प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारले बजेट ल्याएर सरकारको नेतृत्व हस्तान्तरण गर्ने अडान लिएपछि कांग्रेस सभापति देउवा तनाबमा पर्नुभएको बुझिएको छ। निर्वाचनमा तालमेल भएको स्थानीय तहमा पनि राम्रो मत परिणाम नआएको भन्दै प्रधानमन्त्री प्रचण्डले देउवासँग असन्तुष्टि जनाएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले चुनावी तालमेल गरिएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसारको जाँगर नदेखाएको बताउनुभयो। उहाँले नेपाल समाचारत्रपसँग भन्नुभयो– ‘दुई पार्टीको बीचमा भएको सहमतिअनुसार जसरी कांग्रेसले जाँगर देखाउनुपर्दथ्यो त्यो देखाएको पाइएन।’

चुनावी तालमेलमा कांग्रेसले सहयोग नगरेका कारण सत्ता समीकरणमा असर गर्छ कि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा खनालले भन्नुभयो– ‘माओवादी सहमति पालना गर्न प्रतिबद्ध छ, दुई दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा कुनै विवाद छैन तर सकेसम्म अहिलेकै सरकारले जेठ १५ मा बजेट ल्याउने बारेमा छलफल चलिरहेको छ।’

जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन, संविधान संशोधन विधेयक, बजेट लगायतको विषयमा केही दिनयता प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल कांग्रेस र मधेसी मोर्चासँग छलफल गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्