प्रज्ञाको पुस्तक प्रदर्शनी



काठमाडौँ, ३ जेठ । नेपाल प्रज्ञा प्रतिष्ठानले स्थानीय तह निर्वाचन सकिएछि फेरि पुस्तक प्रदर्शनी सुरु गरेको छ ।

प्रतिष्ठान स्थापनाको ६०औँ वर्षगाँठका अवसरमा वैशाख ७ गतेदेखि २२ गतेसम्म आयोजना गरेको सो पुस्तक प्रदर्शनी निर्वाचनका कारण केही दिन स्थगित गरेको थियो ।

हिरक महोत्सवका अवसरमा प्रतिष्ठानले सो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको छ । नेपाली बृहत् शब्दकोशमा १५, २०६७ सालसम्म प्रकाशन भएका पुस्तकमा ६० र विसं २०६८ देखि हालसम्मका पुस्तकमा ४० प्रतिशत छुट दिइएको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले राससलाई जानकारी दिनुभयो ।

प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, कविता, प्रज्ञा र समकालनी साहित्यलगायत विधाका पुस्तक राखिएको छ । विसं २०३० देखि २०७३ सम्म प्रकाशन भएका पुस्तक प्रदर्शनीमा राखिएको बजार व्यवस्थापक सुधीर ढुङ्गेलले बताउनुभयो । प्रतिष्ठानले विसं २०१५ मा संस्कृत साहित्यका महाकवि कालीदासको ‘रघुवंश महाकाव्य’, सोमनाथ सिग्देलको ‘सिद्धान्त कौमुदी’, कुलचन्द्र गौतमको ‘राघवालङ्कर’ जस्ता पुस्तक पनि प्रकाशन गरिसकेको छ ।

दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको ‘दर्शनावली भाग ३’, डा रीना तुलाधरको ‘नेपालमा थेरवाद बुद्ध धर्म एक अध्ययन’, डा अमर गिरीको संयोजनमा ‘काव्य विमर्श’ र ‘नेपालका जातीय संस्कार खण्ड १, २ र ३’ जस्ता हजारौँ पुस्तक प्रतिष्ठानले प्रकाशन गरेको छ । विसं २०१४ असार ९ गते प्रतिष्ठानको स्थापना भएको थियो । प्रदर्शनी जेठ १८ गतेसम्म जारी रहनेछ । रासस

प्रतिक्रिया दिनुहोस्