कुटपिट गरेर एक जनाको हत्या



बुद्धवीर बाहिङ, सोलुखुम्बु ।
सोलुखुम्बुको महाकुलङु गाउँपालिका १, साप्दी टोलमा एकजनाको हत्या भएको छ । साविकको बुङ गाविस १ का ४० वर्षीय चन्द्र प्रकाश राईको स्थानीय ३ युवाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

गएको वैशाख २७ गते राती १० बजेतिर भएको विवादका क्रममा गाउँकै २४ वर्षे डिक बहादुर राई र १९ वर्षे विकास राई, र २१ वर्षका गौरब राईको कुटपिटबाट घाइते भएका, चन्द्र प्रकाशरको उपचारका क्रममा हिजो साँझ सोताङको स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्थानीय युवाले कुटेपछि घर गएर सुतेका राई ५ दिनसम्म बाहिर ननिस्एिकपछि गाउँलेले गएर सोधपुछ गरेपछि मात्रै घटना बाहिर आएको हो । घरमा कोही नभएका राईलाई गाउँलेले नै सोताङ स्वास्थ्य चौकी लगेको र त्यहाँबाट बाहिर उपचारका लागि लैजाने तयारी हुँदै गर्दा चन्द्र प्रकाशको मृत्यु भएको प्रहरी उपरिक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
आक्रमणमा संलग्न डिक बहादुर, विकास र गौरब राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको उपरिक्षक बुढाथोकीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्