क्याफेन ओभरडोजबाट किशोरको मृत्यु



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको साउथ क्यारोलिना राज्यका एक जना स्वस्थ किशोरको छोटो समयमा थुप्रो परिमाणमा क्याफेन मिसिएको पेय पदार्थ सेवनको कारण मृत्यु भएको छ। केबल दुई घण्टाको अवधिमा गत अप्रिलमा एउटा म्याकडोनाल्डमा ठूलो माउन्टेन ड्यु सफ्ट ड्रिंक र एउटा इनर्जी ड्रिंक पिएका डेभिस एल्लेन क्राइप नामक ती किशोर एउटा हाइस्कुलमा अचानक ढलेका थिए।

ती १६ वर्षीय किशोरको क्याफेनको कारण सम्भवतः मुटुसम्बन्धी समस्या एर्रिथ्मिया भएको हुनुपर्ने स्वास्थ विशेषज्ञहरूले अनुमान गरेका छन्। उनलाई त्यसभन्दा पहिले मुटुसम्बन्धी कुनै समस्या नरहेको बताइएको छ।

ती किशोरको वजन ९० केजी भए पनि वजनको कारण नभई क्याफेन ओभरडोजबाट भएको बताइएको छ। तर प्रहरीले यदि अन्य मानिसहरूले उनलाई ती पेय पदार्थ पिइरहेको नदेखेको भए मृत्युको कारण क्याफेन पनि नबताइन सक्ने बताएका छन्।

मुख्य प्रत्यक्षदर्शीले डेभिसले कुनचाहिँ ब्रान्डको इनर्जी ड्रिंक पिएको बताउन नसकेपनि निकै ठूलो साइजको ड्रिंक पिएको दाबी गरेका छन्। अमेरिकन एकेडमी अफ प्याडियाट्रिक्स (एएपी) ले अधिकांश इनर्जी ड्रिंकमा तीन कप कफी बराबरको क्याफेन र १४ चम्चा चिनी हुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्