सरकार परिवर्तनको चर्चा र प्रारम्भिक चुनावी नतिजाको असर, शेयरमा गिरावट



रोविन पौडेल, काठमाडौं
स्थानीय निकाय चुनावपछिको दोस्रो दिन मंगलबार नेप्से परिसूचकमा ९ दशमलव ९९ अंकले गिरावट आएको छ। मंगलबार नेप्सेमा गिरावट आई १ हजार ६ सय ४९ दशमलव २४ को बिन्दुमा पुगेर बन्द भएको छ।

कारोबार बन्द हुनुअघि मंगलबार १ सय ४० कम्पनीका २८ लाख २१ हजार ७ सय १५ कित्ता शेयर ५० करोड ४९ लाख ८५ हजार ६ सय ५८ रुपियाँमा किनबेच भएका थिए। यो कारोबार अघिल्लो दिनको तुलनामा १७ करोड रुपियाँले कम हो।

मंगलबार नेप्सेमा उत्पादनमूलक क्षेत्रको सूचकमा मात्र सुधार देखिएको छ। यस समूहको परिसूचक ३० दशमलव ८९ ले बढ्नुबाहेक अन्य सबै समूहका परिसूचकमा ह्रास आएका छन्।

घट्नेमा बीमा समूहमा सबैभन्दा धेरै ४६ दशमलव ७ अंकले कमी आएको छ भने जलविद्युत् समूहमा १९ दशमलव ९ अंकले घटेको छ। त्यस्तै, होटल समूह १७ दशमलव ५३ अंक, विकास बैंक समूह १४ दशमलव ५१ अंक र बैंकिङ समूह १० दशमलव ४१ प्रतिशतले घटेका छन्।

मंगलबार सबैभन्दा धेरै कारोबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। बैंकको १ करोड ९१ लाख ८४ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको हो।

मंगलबार नेप्सेमा ९ कम्पनीका २ करोड ७४ लाख ८४ हजार ६ सय ४१ कित्ता शेयर सूचीकृत भए। सूचीकृत हुनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ, हिमालयन बैंकको ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद शेयर र प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १ सय ३ दशमलव २१ कित्ता बोनस शेयर रहेका छन्।

शेयरका विज्ञहरूले स्थानीय निर्वाचनमा नेकपा एमालेको अग्रताका कारण यो अवस्था आएको हुन सक्ने अनुमान गरेका छन्। तर, उनीहरूले यो सामान्य गिरावट भएकाले कारण प्रस्ट भइनसकेको पनि बताए। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बजार तलमाथि हुनु स्वाभाविक भएको बताउँदै चुनावसँग यसको प्रत्यक्ष सरोकार हुन नसक्ने बताउनुभयो। ‘अर्कोतर्फ सरकार परिवर्तनको कुरा छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। यसैको असर हुन सक्छ।’ –उहाँले भन्नुभयो। उहाँले आगामी दिनमा के कस्तो हुनेछ भन्न नसकिने जनाउँदै लगानीकर्ता हौसिए बजार उकासिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्